काठमाडौं । अमेरिका र क्यानडा जोड्ने पुलमा विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । साथै दुई देशबीचको आवतजावत पनि बन्द गरिएको छ ।
न्युयोर्कको नियाग्रा फल्स नजिकै एउटा गाडीमा विस्फोट भएपछि रेन्बो ब्रिज बन्द गर्नुपरेको जनाइएको छ । अहिले एफबीआईले ‘आतंकवादी हमला’ को कोणबाट यस विषयमा अनुसन्धान गरिरहेको छ ।
फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले विज्ञप्तिमार्फत स्थिति निकै अस्थिर रहेको बताएको छ । सञ्चारमाध्यमका अनुसार विस्फोटपछि सुरक्षा अधिकारीहरूले यस क्षेत्रमा रहेका चारवटा युएस–क्यानाडा सीमा नाका बन्द गरेका छन् । विष्फोटमा मारिएकाहरुको राष्ट्रियता अझै स्पष्ट भइनसकेको अधिकारीहरुले बताएका छन् । एक वरिष्ठ अमेरिकी सुरक्षा अधिकारीले उक्त कार अमेरिकाबाट आएको बताए । सीमा नाकाको भन्सार स्टेशनमा ठोक्किएपछि गाडी विस्फोट भएको हो ।
घटना पछि, पश्चिमी न्यूयोर्क र ओन्टारियो बीचको अन्य तीन पुलहरू सावधानीका रूपमा तुरुन्तै बन्द गरिएको थियो भने सुरक्षा अधिकारीहरूले बफेलो–नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा सबै कारहरू जाँच गर्न थालेका छन् । अधिकारीहरुले यात्रुहरूलाई अनुसन्धानमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।
नियाग्रा फ्रन्टियर यातायात प्राधिकरणले ट्विटरमा एक पोस्टमा भन्यो,‘बफेलो एयरपोर्टमा आउने सबै कारहरूको सुरक्षा जाँच भइरहेको छ । हामी यात्रुहरूको अतिरिक्त स्क्रिनिङको पनि अपेक्षा गर्दछौं । अहिले गाडीमा विष्फोट हुनुको कारण खुल्न सकेको छैन ।’
सो घटनाको बफेलोमा रहेको एफबीआई फिल्ड अफिसले विष्फोटको अनुसन्धान गरिरहेको र अन्य अनुसन्धान एजेन्सीका अधिकारीहरू पनि घटनास्थलमा रहेको विज्ञप्तिमार्फत जनाएको छ ।