काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध नहुने टिप्पणी गरेका छन् ।
बुधबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले छिमेकी मुलुकको संवेदनशीलता बुझेको भन्दै सुमधुर सम्बन्ध आत्मसमर्पण गरेर एवं राष्ट्रिय हितलाई तिलाञ्जली दिएर मात्र नहुने बताएका हुन् ।
उनले भने, ‘हामीले हाम्रा छिमेकीहरुका संवेदनशीलता बुझेका छौं । हामी छिमेकीसँग झगडा गर्न चाहँदैनौं । सुमधुर सम्बन्ध चाहन्छौं । तर आत्मसमर्पण गरेर, राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, घुँडा टेकेर स्वाभिमान छोडेर, सार्वभौम सत्तामा ठेस लागेको हेरेर सम्बन्ध सुमधुर हुने होइन । मन कुँड्याएर र हेपिएको बोध गरेर सम्बन्ध सुदृढ हुने होइन ।’
अध्यक्ष ओलीले देशको सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतामाथि प्रहार भइरहँदा त्यसको स्खलन अहिले गठबन्धनले गराइरहेको आरोप लगाए ।
उनले भने, ‘हाम्रो देशको सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता जुन गर्वको कुरा हो, त्यो स्वभाविमानमाथि प्रहार भएको छ । त्यसको स्खलन अहिले गठबन्धनले गराइरहेको छ । बहुत गम्भीर र देशका लागि खतरनाक कुरा यही छ ।’
उनले एमालेले हिंसाको बाटो नभई शान्तिको बाटोबाट, जनपरिचालनको बाटोबाट हिँडेर जनताको बल प्रयोग गर्ने बताए ।
मंसिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्पयात्रा’ नाम दिएर एमालेले अभियान सुरु गर्दैछ ।
आन्दोलनका केही सर्त रहेको भन्दै ओलीले भने, ‘हामी हिंसाको बाटो हिँड्दैनौं । शान्तिको बाटोबाट, जनपरिचालनको बाटोबाट हिँड्छौं । जनताको बल प्रयोग गर्ने भनेका छौं, हिंसाको बाटोबाट होइन ।’
त्यसपछि नेतृत्वको विभिन्न तहमा छलफल गर्ने अनि एउटा सही र सर्वसम्मत निष्कर्षका साथ मैदानमा उत्रिने ओलीले बताए ।
देशलाई निकास दिने बाटो एमालेले नसमाते अरुले त्यो रिक्ततालाई पूरा गर्ने बताउँदै ओलीले भने, ‘हेर्दाहेर्दै कसैका खल्तीबाट भुर्र परेवा उडाउन सक्छ है । जादू गर्दिए जस्तो गर्न सक्छ, चटक गर्दिएजस्तो गर्न सक्छ ।’