केपी ओली कप क्रिकेटको तयारी अन्तिम चरणमा, एमाले अध्यक्षले उद्घाटन गर्ने

केपी ओली कप क्रिकेटको तयारी अन्तिम चरणमा, एमाले अध्यक्षले उद्घाटन गर्ने

पोखरा । पोखरामा मंसिर ७ गतेबाट आयोजना हुन लागेको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरामा मंगलबार आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतियोगितामा कुल १२ टीमको सहभागीता रहनेछ ।

‘सात प्रदेशका सात टीम, तीन विभागिय टोली र आयोजकका दूई टीम गरेर कुल १२ टीमले सहभागीता जनाउनेछन्’ मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले भने । पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको लागि झण्डै साढे ५ सय दर्शक अट्ने अस्थायी प्याराफिट निर्माण गरिएको अध्यक्ष आचार्यले जनाए । दर्शकले खेल निःशुल्क रुपमा हेर्न पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन मदन भण्डारी स्पोर्ट्स एकेडेमीका परिकल्पनाकार एवं संरक्षक समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले म‌ंसिर ७ गते गर्नेछन् । प्रतियोगिता अन्तरगत उद्घाटन खेल मंसिर ७ गते बिहान ११ बजे वागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो समुहबीच हुने कार्यक्रम स‌ंयाेजक शक्ति गौचनले बताए ।

मंसिर ८ गते पहिलो खेल बिहान ८ बजे कर्णाली प्रदेश र वागमती प्रदेश, दोस्रो खेल मध्यान्न १२ बजे एपीएफ क्लब र गण्डकी प्रदेशकाबीच हुनेछ ।

मंसिर ९ गते पहिलो खेल मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो र सुदुर पश्चिम प्रदेश, दोस्रो खेल लुम्बिनी प्रदेश र एपीएफ क्लबका बिच हुनेछ ।
मंसिर १० गते पहिलो खेल लुम्बिनी प्रदेश र गण्डकी प्रदेश, दोस्रो खेल नेपाल पुलिस क्लब र मधेश प्रदेशकाबीच हुनेछ ।

मंसिर ११ गते पहिलो खेल मधेश प्रदेश र सुदुर पश्चिम प्रदेश, दोस्रो खेल त्रिभुवन आर्मी क्लब र मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलोबीच हुनेछ ।
मंसिर १२ गते पहिलो खेल सुदर पश्चिम प्रदेश र नेपाल पुलिस क्लब, दोस्रो खेल कोशी प्रदेश र त्रिभुवन आर्माी क्लबबीच हुनेछ ।
मंसिर १३ गते मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलो र कोशी प्रदेश आमनेसामने हुनेछ्न ।

मंसिर १४ गते समुह ए को बिजेता र समुह डीको बिजेता बिच पहिलो सेमीफाइनल खेल हुनेछ भने दोस्रो सेमी फाइनल खेलमा समुह बीको बिजेता र समुह सीको बिजेता आमनेसामने हुनेछन् । प्रतियोगिताको फाइनल खेल मंसिर १५ गते हुनेछ ।

खेल तालिका अनुसार समुह ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, समुह ‘बि’मा एपिएफ, लुम्विनी र गण्डकी, समुह ‘सि’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा समुह ‘डि’मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो रहेका छन् ।

प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न करिब ७७ लाख खर्च हुने जनाएको छ ।

प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु ५ लाख र उपविजेता टिमले नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका अध्यक्ष आचार्यले जानकारी दिएका छन् ।

आइसीसीको नियम अनुसार खेलाइने टी–२० टुर्नामेन्टमा म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर र ब्याटरले जनही २०/२० हजार रुपैयाँ तथा म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ प्राउने उनले खुलाए ।

यस प्रतियोगितालाई निरन्तर रुपमा आयोजना गर्ने र वार्षिक रुपमा पुरस्कारको राशी वृद्धि गरिने अध्यक्ष आचार्यले बताए।

‘सबैका लागि खेलकुद खेलकुद’ भन्ने मुल नाराका साथ २०६६ साल पुस १७ मा जननेता मदन भण्डारीको नामबाट मदन भण्डारी स्पोर्ट्स एकेडेमीको स्थापना भएको हो । पत्रकार सम्मेलनमा केपी ओली कपका विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्