विराटनगर । ग्रामीण पर्यटनको अभ्यास गरिरहेको इलामको आकर्षक गन्तव्य अन्तुका बासिन्दा एक दशकभन्दा बढी समयदेखि स्वदेशी र विदेशी पर्यटक भित्र्याउन लागेका छन् ।
केही वर्ष अन्तु महोत्सवका शृङ्खला पार गरेपछि पछिल्लो समयमा पर्यटकका लागि यो प्रमुख गन्तव्यको सूचीमा पर्न थालेको छ ।
चिया बगानको बीचमा बनाइएका कटेज र होटलहरुले गर्दा पछिल्लो समय अन्तु पोखरी आसपास बसेर रात्रिकालीन सौन्दर्यको मज्जा लिन समेत पर्यटकहरुको भीड लाग्ने गरेको छ ।
अन्तुमा छिमेकी जिल्ला तथा भारत, भुटानसहित धेरै देशबाट पर्यटकहरु आउने गर्छन् । होमस्टे, चियावारीको रमाइलोपना तथा अन्तु पोखरीको मनमोहक दृश्यमा मन भुलाउन पनि पर्यटकहरु आउने गरेको द जेड लेक कटेजका सञ्चालक बसन्त घिमिरे बताउँछन् ।
अन्तु सुर्योदयको दृश्य हेर्न मात्र पर्यटक आउँदैनन् लोपन्मुख लेप्चा जातिको कला, संस्कृति र साहित्यको अवलोकन र अध्यायनका लागि पनि उल्लेख्य संख्यामा पर्यटक आउने गरेका छन् ।
होमस्टेबाट शुरु भएको अन्तुको पर्यटन यात्रा अहिले ठूला होटल र कटेजहरुमा परिणत हुँदै छ । कतिपय ठूला होटल निर्माणका क्रममा छन् भने करोडभन्दा बढी लगानी गरेर कटेज खोल्ने क्रम जारी छ ।