काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल विस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्दै गएको बताएकाछन् ।
शनिबार विराटनगरमा पत्रकार एवं साहित्यकार शंकर खरेलद्वारा लिखित ‘तृप्यन्ताम’ लघुकथा संग्रहको विमोचन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाहरूको विदेश पलायन नरोके नेपालमा ज्येष्ठ नागरिकहरू मात्रै रहने प्रस्ट पारे ।
‘युवाहरूको बढ्दो विदेश पलायनले कतै नेपाल बुढौलीहरूको देश त हुँदैन भनेर मलाई चिन्ता लाग्न थालेको छ,’ कोइरालाले भने, ‘राजनैतिक दलहरू देश र जनताप्रति जिम्मेवार नभएअवस्था जटिल हुँदै गएको छ । स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूको पलायन रोक्नुपर्छ ।’
जनतामा अहिले चरम निराशा देखिएको उनको भनाइ थियो । त्यही निराशाको परिणाम स्वरुप युवाहरू विदेश पलायन भएको नेता कोइरालाले बताए ।
‘अलि हुने खानेहरू अमेरिका, जापान, अष्टेलिया, क्यानडा र युरोपतिर जान्छन्, उतै घरजम गरेर बस्छन् । आर्थिक रुपमा कमजोर र धेरै अध्ययन पनि नगरेका तर पाखुरीमा बल हुनेहरू खाडी जान्छन्,’ कोइरालाले थपे, ‘एकथरि युवाउतै सेटल भएर बस्छन्, अर्कोथरि युवा पाखुरीमा बल सकिएपछि र उमेर ढल्किएपछि फर्किन्छन् । यस्तो अवस्थाले देश उँभो लाग्दैन ।’
उनले रेमिट्यान्स मुलुकको आर्थिक विकासको दीर्घकालीन र भरपर्दो स्रोत नभएको जिकिर गरे । कोभिड–१९, रुस–युक्रेन युद्ध र इजरायल–हमासबीचको युद्धले रेमिट्यान्स देश विकासको भरपर्दो र दीर्घकालीनआर्थिक स्रोत होइन भन्ने पुष्टि भएको उनको भनाई छ ।