पोखरा । पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता–२०२३ आयोजना हुने भएको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मंसिर ९ गते हुने प्रतियोगितामा २० टीमको सहभागीता रहनेछ ।
प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले दिएको जानकारी अनुसार नेपाली १० र चिनियाँ १० गरी २० टिमका कुल ६ सय खेलाडी प्रतियोगितामा सहभागी बन्नेछन् ।
लेकसाइडस्थित बाराहीघाटमा हुने प्रतियोगिता अन्र्तगत पौडी, साइक्लिङ र दौड हुने छ ।
टीम इभेन्ट अन्तरगत प्रथम हुनेले ३ लाख ६० हजार, दोस्रो हुनेले २ लाख ८८ हजार, तेस्रो हुनेले २ लाख १६ हजार, चौथो हुनेले १ लाख ४४ हजार र पाँचौ हुनेले ९० हजार रुपैयाँ हात पार्नेछन् ।
व्यक्तिगत इभेन्टतर्फ प्रथम हुनेले १ लाख ४४ हजार, दोस्रो हुनेले १ लाख ८ हजार, तेस्रो हुनेले ५४ हजार र चौंथोदेखि ८ औं सम्म हुनेले १८ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक पालिखेले जनाए ।
विद्यार्थीतर्फको दौड अन्तरगत प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार चौंथो हुनेले १० हजार र पाँचौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताले पोेखराको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सीनाले जानकारी दिए ।
प्रतियोगिताको सह–आयोजकमा युनान माउन्टेनरीङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन चीन र होटल संघ पोखरा रहेका छन् ।
प्रतियोगिता सम्पन्न गर्न झण्डै ८० लाख खर्च लाग्ने अनुमान गरिएको छ । पुरस्कार राशिमा मात्र २० लाख खर्च हुने खुलाइएको छ ।
प्रतियोगिता सफल बनाउन विभिन्न २२ वटा उपसमिति गठन गरिएको आयोजकले जनाए । प्रतियोगिताको थप आर्कषणका रुपमा फोटो प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम समेत हुनेछ ।