काठमाडौं । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ राष्ट्रका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय छाता संस्था इन्टरनेसनल फेडेरेसन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्याक्टर्स एशोसिएसन (ईफाप्का) को ४६ औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले, आज पत्रकार सम्मेलन गरी मंसिर पाँच गतेबाट काठमाडौंमा आयोजना हुने सो सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
ईफाप्का सम्मेलन ‘दिगो पूर्वाधारमा साझेदारी’ भन्ने नाराका साथ मंसिर पाँच गतेदेखि ९ गतेसम्म चार दिनसम्म काठमाडौंको एक होटलमा आयोजना गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गरिने महासंघका महासचिव रोशन दाहालले बताए ।
ईफाप्का सम्मेलन नेपालको पर्यटन क्षेत्रको विकास र अर्थतन्त्रलाई चलायमान गर्न राम्रो अवसर बन्न सक्ने महासंघका अध्यक्ष रवी सिंहले बताए ।
‘सम्मेलनमा सदस्य मूलुकका जतिपनि व्यवसायीहरु सहभागी हुनुहुनेछ उनीहरुबाट कम्तीमा पनि १० लाख डलर बढी नेपालको पर्यटन क्षेत्र वा अर्थतन्त्रलाई भाइब्रेन्ट गर्न खर्च गर्ने र हामीले त्यो विदेशी मुद्रा प्राप्त गर्ने र नेपालको पर्यटन क्षेत्रको विकासको लागि यो एउटा राम्रो उपलब्धी हुनेछ ।
उनले नेपालमा कृषि, पर्यटन जलविद्युत लगायतका विविध क्षेत्रमा लगानीको गर्न आग्रह गर्ने बताए ।
इफाप्कामा १८ वटा देशहरु रहेका छन् । यो नेपालले आयोजना गर्ने दोस्रो सम्मेलन पनि हो । इफाप्कामा १८ वटा देशहरुबाट २५० बढी प्रतिनिधि सम्मेलनमा सहभागी हुन नेपाल आउने इफाप्काका महासचिव एवं नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार समेत रहेका विरेन्द्र दास स्वामीले जानकारी दिए।