पोखरा । चलचित्र विकास बोर्डका सदस्य तथा प्रवक्ता केएल पीडितले दिमाग खराब चलचित्र युनिटले उठाएको विषय हल व्यवसायी तथा वितरक बसेर सम्बोधन गर्नुपर्ने बताए ।
नेपाल अहिलेसँग कुरा गर्दै प्रवक्त्ता केएलले नेपाली चलचित्र उद्योगले अपेक्षा गरेको चलचित्र हलमा आएको बेला शो घटाइयो भन्ने कुरा बाहिर आउनु दुर्भाग्यपूर्ण कुरा भएको बताए । आफूहरु समक्ष शो घटाइएको बारेमा अधिकारिक विवरण प्राप्त नभएपनि मिडिया मार्फत आएको जानकारी र चलचित्र युनिटबाट आएको स्टेटमेन्ट हेर्दा यो निरासाजनक कुरा भएको प्रतिक्रिया दिए । यसलाई बितरक र हल व्यवसायीले सच्याउनुपर्ने उनको भनाई छ ।
‘चाडपर्वको बेला तथा दर्शकहरु चलचित्र हेर्ने मुडमा भएको समयमा दर्शक तथा नेपाली चलचित्र उद्योगले अपेक्षा गरेको राम्रो चलचित्र हलमा आएको बेला हल व्यवसायी र वितरकहरुले अधिकतम शो दिनुपर्ने हो, शो घटाइयो भन्ने कुरा आउनु दुर्भाग्यपूर्ण कुरा हो, शो घटाइएको भन्नेबारे आधिकारिक जानकारी छैन तर, जसरी मिडियामा आएको छ, दिमाग खराब टीमबाट जुन स्टेटन्मेट बाहिर आएको छ, त्यसलाई हेर्दा यो निरासजनक कुरा हो, दुर्भाग्यपूर्ण कुरा हो यसलाई सकेसम्म वितरक र हल व्यवसायीले सच्याउन पर्छ’ प्रवक्त्ता केएलले नेपाल अहिलेसँग भने।
उनले शो थपेर नेपाली चलचित्रको बजारलाई सुसुचित गर्दै दर्शकलाई नेपाली चलचित्र हेर्न अभ्यस्त बनाउनुपर्ने बेला भएको समेत बताए ।
‘अहिले सो थपेर नेपाली चलचित्रको बजारलाई सुसुचित गर्ने एउटा अवसर हो, चाडपर्वको बेला दर्शकलाई नेपाली चलचित्र हेर्न अभ्यस्त बनाउदै लानुपर्ने बेला हो, यसलाई दुई पक्ष बसेर समाधान खोज्नुपर्छ र अधिकतम रुपमा दर्शकको माग अनुसार प्राथमिकतामा राखेर दिमाग खराब लगायत नेपाली चलचित्रलाई बढी शो दिनुपर्छ’ उनले भने ।
दिमाग खराब युनिट उठाएको ५० प्रतिशत सेयरको कुरा समेत जायज भएको उनको भनाई छ । ‘सेयर बाँडफाँड ५० प्रतिशत पनि जायज हो, विगतको निर्णय सच्याउनुपर्छ, समग्र नेपाल चलचित्र क्षेत्रको हितको कुरा भएकोले समग्र हल सञ्चालक र वितरकले सुनिदिए राम्रो हुन्छ’ उनले थपे ।
चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्लले भने नेपाली चलचित्र दिमाग खराबको टीमलाई चलचित्रको प्रदर्शन नरोक्न सुझाब दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘शो’ लाई निरन्तरा दिँदै ‘शो’ बढाउने प्रयत्न जारी राख्न भनेका छन् । ‘शो लाई निरन्तरता पनि दिनुहोस्, शो बढाउने प्रयत्न पनि जारी राख्नुहोस्’ मल्लले लेखेका छन् ।
उनले एकचोटि उत्रेको सिनेमा र एकचोटि टुटेको ‘स्टारडम’ फेरि चल्न गाह्रो हुने भन्दै ‘म छु’ भन्नेहरुको विश्वास नगर्न पनि सुझाएका छन् । ‘एकचोटि उत्रेको सिनेमा र एकचोटि टुटेको स्टारडम फेरि चल्न गाह्रो छ । अरुको दिमाग पो खराब पार्ने त, आफ्नै दिमाग त खराब नपार्नुस् । म छु भन्नेहरु कसैको विश्वास नगर्नुहोस् । परेको बेला कोही हुन्नन्’ उनले लेखेका छन् ।
यता चलचित्र दिमाग खराबका निर्देशक निश्चल बस्नेतले आफुहरुका दुई माग सम्बोधन नभए चलचित्रको प्रदर्शन शुक्रबारबाट रोक्ने स्पष्ट पारिसकेका छन् । सामाजिक सञ्जाल मार्फत किन यस्तो अवस्था आएको हो भन्ने समेत बताएका उनले माग सम्बोधन नभए दर्शकको माया पाउँदा पाउँदैको अवस्थामा समेत चलचित्रको प्रदर्शन रोक्ने बताएका हुन् ।
‘हाम्रो दुईवटा माग छन् एउटा विदेशी चलचित्र र दिमाग खराब चलचित्रको शो संख्या बराबर हुनुपर्यो, अर्को भनेको शो जति समय सम्म चल्छ निर्माताले ५० प्रतिशत शेयर पाउनुपर्छ’ उनले भनेका छन् ।
अहिले दुई हप्ता सम्म निर्माताले ५० प्रतिशत शेयर पाउने र तेस्रो हप्ता पछि ३५ प्रतिशत मात्र पाउने अवस्था भएको भन्दै यसलाई एकनास ५० प्रतिशत बनाउनुपर्ने उनको माग छ । दिमाग खराब चलचित्र युनिटले ‘वर्ड अफ माउथ’ राम्रो हुँदाहुँदै पनि हलहरुले शो नदिएको गुनासो गरेका छन् ।