काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
बिहान १० : ५१ मिनेटको शुभ साइत पारेर विधिपूर्वक दिदी–बहिनीले टीका फूलमाला लगाइदिएपछि यो क्रम आज दिनभरजसो जारी रहने छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइ दिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको शुभसाइत मध्याह्न १० बजेर ५१ मिनेटमा तय गरेको छ । यद्यपि शुभसाइतमा टीका लगाइदिन नभ्याइए दिनभर टीका लगाउँदा पनि बिग्रय भने पर्ने छैन ।
जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एलपी भानु शर्माले एउटै परिवारमा जन्मिनु र दुख पनि सुख पनिसंगै भोग्नु सामान्य विषय नभएको भन्दै, भाइटीका, दाजुभाई र दिदी बहिनीको सम्बन्धलाई गहिरोसंग बुझ्ने पर्व भएको बताए ।
उनले यसलाई औपचारिक पर्वको रुपमा मात्रै मनाउने नभई एकअर्का बुझ्ने वाल्यकालदेखिको प्रेमलाई पुर्न जागरण गर्नु पर्ने बताए ।
भाइटीका यमराज अर्थात परिर्वतनको पुजा र अर्को प्रेमको पुजा भएको उनको तर्क छ ।
उनले भने ‘परिर्वतनलाई आत्मसाथ गर भनेर सिकाउनु नै यमराजको पुजा गर्नु हो। र परिर्वतनलाई आत्मसाथ गर्न हामी कसलाई सिकाउछौ जसलाई प्रेम गर्छौ । ’
भाइटीकाका समय दाजु–भाइले पश्चिम फर्केर बस्ने र दिदी–बहिनीले पूर्व फर्केर टीका लगाउँदा उत्तम हुने शास्त्रीय मान्यता छ ।
आजको दिन अधिकांश निधारहरू सप्तरङ्गी हुन्छन्, दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने पनि चलन रहँखदै आएको छ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आ–आफ्नै तरिकाले मनाउने चलन छ ।