काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पार्टी प्रवक्ता प्रकाण्ड जाजरकोटको भुकम्प प्रभावित बस्ती नलगाडको चिउरी बस्ती पुगेर पार्टीको भुकम्प पुन:निर्माण अभियानको उद्घाटन गरेका छन् ।
भुकम्पमा घर भत्केका एकल परिवार कले विकको घर पुनर्निर्माण कार्य प्रारम्भ गरी अभियानको उद्घाटन गरेको पार्टी निकट जनपत्रकार संगठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रेले बताए ।
पार्टी द्वारा संकलित राहत सामग्री शुक्रबार जाजरकोट सदरमुकाममा जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गरि राति अबेर नलगाड पुगेका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले स्थानीय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरुसँगको छलफल गरेका थिए ।
शनिबार बिहान नलगाड आसपासका भुकम्प पिडितहरु सँग भेटघाट गरेका उनीहरुले विपद्को समयमा जनतासँग आफ्नो पार्टी सँगै भएको बताएका थिए । नालगाड गाउँमा १३ जनाको भुकम्पमा परी मृत्यु भएको छ ।
गत कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्प पीडीत जाजरकोट र रुकुम पश्चिम जिल्लाका नागरिकको लागि राहत तथा उद्वारका लागि नेकपाका झण्डै डेढ सय नेता कार्यकर्ता नियमित राहत वितरण,उद्वार,स्वास्थ उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन अभियान नै सञ्चालन गरेर लागेको डुम्रेले जानकारी दिए ।
विप्लव र प्रकाण्ड आईतबार रुकुमका भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न जाने कार्यक्रम रहेको पनि डुम्रेको भनाई छ ।