काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरिएको छ ।
आज काग तिहारको अवसर पारेर आयोजित २० औँ काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको संख्या घट्दै गएको बताएका छन् ।
उनले भने, ‘कागको संख्या पहिले जस्तो धेरै छै्रन । पहिला चार हजारसम्म कागैकाग हुन्थे, यसपाली कागको संख्या खासै छैन । पहिलेको तुलनामा धेरै घटेको छ । धेरै काग मरेछन्, पहिलेजस्तो ठूलो संख्यामा काग जम्मा हुँदैनन् ।’
त्यस्तै उनले कागले शुभ अशुभ खबर ल्याउने तथा आफैंलाई आपत पर्दा निकाल्ने स्वर फरक हुने बताए । आज उनले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी रत्नपार्कमा २०औँ काग सम्मेलन सम्पन्न गरेका छन् । दुलालले विगत २० वर्षदेखि तिहारको अवसरमा काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् ।