दानबहादुर बुढा,मुगु । छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले पत्रकार सम्मेलन मार्फत् घटना भएको १५ दिनपछि सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न रहेका दुबैले ब्यक्तिगत रिसईबी र सुन लुट्नका लागि हत्या गर्ने जेठ महिनामा योजना बनाएको प्रहरीले जनाएको छ ।
कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँकी श्रीदेवी सहित उनका तीन सन्तानको हत्या भएको थियो ।
हत्यामा संलग्न सोही नगरपालिका–६ का ३१ वर्षीय गोपाल बोहोरा र वडा–७ का ३१ वर्षीय काले भनिने गोर्खबहादुर शाहीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
हत्याका मुख्य योजनाकार भनिएका गोपाल बोहोरा वैदेशिक रोजगारीका लागि कतारमा गएकोमा राम्रो काम नपाएपछि दुई वर्ष बसेर फर्किएका थिए ।
प्रहरीका अनुसार मृतक श्रीदेवीका श्रीमान दीपकले कतारमा काम गर्ने कम्पनीमा राम्रो कमाई गरेको थाहा पाएपछि उक्त कम्पनीमा काम गर्न आफूलाई भिसा पठाइदिन आग्रह गरेका थिए ।
दिपकले गोपालको आग्रह अस्वीकार गरेकाले त्यसै बेलादेखिको रिस उनले पालेका थिए । त्यसपछि उनको परिवार सखाप पार्ने योजनाअनुसार छायाँनाथ रारा नगरपालिका–७ का गोर्खबहादुर शाहीसँग बाँकेको बैजनाथ नगरपालिका–१ चिसापानीमा भेट गरी हत्याको योजना बनाएका थिए ।
परिवारका सबैको हत्या गरी सुनचाँदी, गहना र नगद लुटपाट गर्ने योजना उनीहरुले बनाएको अनुसन्धानबाट खुलेको प्रदेश कार्यालयका प्रमुख भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा बताए ।
गोपालको योजनाअनुसार गोर्खबहादुर कात्तिक ५ गते सुर्खेतबाट सडक यातायात हुँदै ६ गते मुन्दु गाउँमा रहेको गोपालको घरमा पुगेका थिए । उनी घरको भुईँतल्लामा रहेको खरायोको खोर भएको कोठामा कसैले नदेख्ने गरी लुकीछिपी बसेका थिए ।
श्रीदेवी छोरा ११ वर्षीय छोरा मनोज, ७ वर्षीया छोरी अप्सरा र ५ महिनाका छोरा रहरसहित माइतीबाट फर्केर घरमा खान खाएर बसेका बेला राति ९ बजे गोपाल र गोर्खले पुगेर घरबाहिर बोलाएका थिए ।
श्रीदेवीले ढोका खोलेपछि दुबैजना घरभित्र छिरेर धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीदेवीले प्रयोग गने मोबाइल, कानमा लगाएको २.५ तोलाको सुनको रिङ र २५ लालको घाँटीमा लगाएको तिलहरी लुटेर लगेको प्रहरीले जनाएको छ ।
हत्यापछि गोर्खबहादुर घटनास्थलबाट मुगु र जुम्लाको सिमाना बुलबुलेसम्म पैदल गइ त्यहाँबाट सुर्खेत जाने बस चढेर कात्तिक ९ गते सुर्खेत पुगेका थिए । श्रीदेवीले प्रयोग गरेको मोबाइलको सिम फ्याँकेर शाहीले आफनो सिम हालेर प्रयोग गरेको पाइएको छ ।
कात्तिक २३ गते नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित कारकादोस्थित गजेन्द्र शाही र बिक्रम शाहीको घरबाट गोर्खबहादुरले लुकाई राखेको झोलामा नगद १ लाख ७९ हजार नागरिकता, राहादानी, बसको टिकटसहित सिमकार्ड नभएको दुई थान मोबाइल प्रहरीले बरामद गरेको थियो ।
हत्यामा संलग्न गोपाल बोहोरा मृतक श्रीदेवीका आफनै मामाको छोरा हुन् । गोर्खबहादुर शाही श्रीदेवीका कान्छी आमाका श्रीमान हुन् । प्रहरीले दिएको जानकारी अनुसार गोपालले आफूलाई श्रीदेवीका श्रीमानले भिसा पठाउन नमानेको र त्यही झोंकमा परिवारको हत्या गर्ने योजना बताएको बताएका छन् ।
एक्लै हत्या गर्न नसक्ने देखेपछि नेपालगन्जमा रहेका आफ्ना फुपाजु गोर्खलाई गत जेठ महिनामा भेट गरी हत्या गर्ने योजना बनाएको पत्रकार अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश हाल नेपालगन्ज, जिल्ला प्रहरी कार्यालय मुगु र कर्णाली प्रदेश केनाइन शाखाबाट खटिएका प्रहरी अधिकृत सहितको टोली खटिएको थियो ।
घटनाबारे स्थलगत अनुसन्धान गरी हत्यामा संलग्नलाई सार्बजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।