काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रमा के भैरहेको छ,के गर्नुपर्ने हो,समस्या र चुनौति कस्ता हुन र कसरी अघि बढ्ने भन्ने सन्दर्भमा राज्यलेको विर्सनै नसक्ने गरी र अन्तर्राष्ट्रिय समुदायलाई समेत जानकारी हुने गरी सबै पक्षलाई समेटेर ठूलो कार्यक्रमको आयोजना गर्ने बताएका छन् ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा संलग्न सरकार,विभिन्न अन्तर्राष्ट्रिय डोनर,संघ संस्था देखि नीति निर्माता सम्मलाई एउटै मञ्चमा ल्याई सबै क्षेत्रलाई समेटेर स्वास्थ्य क्षेत्रको अवस्था र भविष्यको निकास निकाल्ने गरी विश्व स्वास्थ्य सेवा दिवसको दिन दशरथ रंगशालामा ठूलो कार्यक्रमको आयोजना गर्ने र त्यसमा आफूहरुले गरेको काम देखाउने बताए ।
‘नेपाल राष्ट्रले सधैंभरि सम्झने मात्र होइन अन्तर्राष्ट्रिय डोनर,पार्टनर्स,संघसंस्था र हामो स्वास्थ्य क्षेत्रमा काम गर्नेले मात्र होइन अरु क्षेत्रमा काम गर्नेले पनि सिक्नु पर्छ भन्ने किसिमले हामी विश्व स्वास्थ्य सेवा दिवसको दिन दशरथ रंगशालामा कार्यक्रक गछौं’, मन्त्री बस्नेतले भने ‘त्यो कार्यक्रम भनेको यो क्षेत्रमा काम गर्ने सबै विकास साझेदार र नगर गाउँपालकाका प्रतिनित्व गराउने,संवैधानिक क्षेत्र,राष्ट्र प्रमुखलाई एकै ठाउँमा ल्याएर स्वास्थ्य क्षेत्रमा के भैरहेको छ,के गर्नु पर्ने हो,के कमी छ र कसरी काम गर्न सक्छौ भन्ने कुरा समेत पुरै देश र अन्तर्राष्ट्रिय क्षेत्रलाई जानकारी हुने गरी हामी काम गर्छौ’, मन्त्री बस्नेतले भने ।
यस्तै उनले स्वास्थ्य शिक्षाको क्षेत्रमा जति राम्रो र धेरै काम गर्यो उति नै आफूप्रति गाली बढ्दै गएको आरोप पनि लगाएका छन् ।
उनले समाजमा राम्रो काम देख्न नचाहनेहरु रहेका र उनीहरुबाट गाली धेरै आउने गरेको टिप्पणी गरे । उनले आफूले मन्त्रालयमा आएपछि स्वास्थ शिक्षा क्षेत्रमा राम्रा काम गरेका र योगदान पुर्याएका कर्मचारीलाई एक कार्यक्रमको आयोजना नै गरी सम्मान गरेको स्मरण गर्दै आवश्यकता अनुुसार समाजमा राम्रो काम गर्नेलाई प्रतिस्पर्धाबाट सम्मान गर्नुपर्ने धारणा राखे ।
आफूले मन्त्रालय सम्हालेपछि स्वास्थ्य क्षेत्र र मन्त्रालयको धेरै समस्यालाई समाधान गरेको जिकिर गरेर नथाक्ने उनले आजपनि आफ्ना कामको चर्चा गर्न छाडेनन् । उनि यतिमै रोकिएनन । स्वास्थ्य शिक्षाको क्षेत्रमा सकेजति काम आफूहरुले गरिरहेको उनले बताए ।
धेरै र राम्रा काम गर्नेलाई समाजमा राम्रा काम भएको देख्न नचाहनेले गाली गर्ने भन्दै उनले अरुलाई सचेत गराउँदै भने, ‘सक्ने काम हामी गरिरहेको छौं । तपाइँहरु पनि जतिराम्रो काम गर्नुहुन्छ गाली धेरै आउँछ । हामी बेस्सरी काम सुरु गरिराको छौ, गाली फेरी सुरु भएको छ । समाजमा राम्रो काम देख्न नचाहने हुन्छन् । त्यो समाचारमा झन धेरै बिक्छ । त्यसको प्रभाह नगरी आफ्नो कमजोरीलाई सुधार्नुपर्छ भनेर हामीले काम गर्ने हो ।’