काठमाडौं। हिमाली क्षेत्रमा भैरहेका विविध मानवीय क्रियाकलापले जलवायु संकट निम्त्याउन भूमिका खेलेको भन्ने कुरामा जानकार व्यक्तिहरु एकमत देखिएका छन्।
जलवायु परिवर्तन र जलवायु संकट उत्पन्न गर्नमा न्यून भूमिका भएको देश नेपालले ठूला औद्योगिक देशहरुको नकारात्मक योगदानको मार खेप्नुपरिरहेको उनीहरुको धारणा रहेको छ।
मंगलबार काठमाडौंमा आयोजित एक अन्तरसंवादका सहभागीले हिमाली क्षेत्रमा तिव्रगतिमा देखिईरहेको जलवायु परिवर्तनको असरले मानव बस्ती समेत प्रभावित भएको बताए। साथै उनीहरुले जलवायु संकट बढ्नाले हिमतालहरु फुट्ने जोखिम बढेर हिमालदेखि समथर भूभागसम्मका मानिसहरु संकटमा पर्ने खतरा बढेको पनि चर्चा गरे।
पर्वतारोहणले हिमाली क्षेत्रमा उत्पन्न गरेको सन्तुलन संकट, सरसफाईमा भैरहेको लापरवाही र सरकारी तहमा देखिएको उदासिनता जस्ता कारणले हिमाली क्षेत्रका मानव वस्तीमात्र होइन त्यहाँको सांस्कृतिक पहिचानलाई समेत नकारात्मक प्रभाव परिरहेको विज्ञहरुको भनाई छ।
नीति अनुसन्धान प्रतिष्ठान, नेपालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको हालै सम्पन्न भ्रमणको सन्देश सन्दर्भमा जलवायु परिवर्तनको पक्षमा विविध क्षेत्रका विज्ञहरुसँग अन्तर सम्वाद गरेको थियो।
विश्लेषक श्रीकृष्ण अनिरुध्द गौतमले समन्वय गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डाक्टर दिपक अधिकारी, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, पत्रकार कृष्णमुरारी भण्डारी, पत्रकारहरु चक्र कार्की, जगदीश्वर पाण्डे, पूर्व प्रहरी नायव अतिरिक्त महानिरीक्षक हेमन्त मल्ल लगायतले जलवायु परिवर्तनको असरका बारेमा चर्चा गरेका थिए।