कांग्रेसका कारण राजनीतिक संकट आएको मुख्यमन्त्री कार्कीको आरोप

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसका कारण प्रदेशमा राजनीतिक संकट आएको आरोप लगाएका छन् ।

बिहीबार जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले कांग्रेसका कारण प्रदेशमा सरकार बन्न नसक्ने अवस्था आएको बताए ।

दलहरु मिलेर सरकार बनाउने जनादेश प्राप्त भए पनि कांग्रेसले नचाहँदा संकट आएको उनको भनाइ छ ।

निर्वाचनबाट मिलेर जान दलहरुलाई जनमत प्राप्त भएकाले आफूहरु मिलेर जाने प्रयासमा लागेको तर कांग्रेसले जिम्मेवार भएर संकटको समाधान गर्न नचाहेको मुख्यमन्त्री कार्कीले बताए ।

एमाले र कांग्रेस मिलेको अवस्थामा प्रदेशमा राजनीतिक स्थायित्व कायम हुन सक्ने भन्दै उनले कांग्रेसलाई मिलेर अघि बढ्न आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नभएपछि राजीनामा दिएका छन् । त्यसपछि प्रदेश प्रमुखबाट अर्को सरकार गठनका लागि आह्वान भइसकेको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि शुक्रबारसम्मको समय दिएका छन् ।

यसैबीच, सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले माओवादीलाई सरकारको नेतृत्व दिने सहमति काठमाडौंमा गरेका छन् ।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङबोलाई मुख्यमन्त्री बनाउने कुरामा दलका नेताहरुबीच सहमति भएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्