काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचना मार्फत नयाँ व्यवसायिक ढाँचामा लैजानुपर्ने बताएकी छन् ।
सोमबार विश्व हुलाक दिवसको अवसरमा उनले समय र प्रविधिको विकाससँगै हुलाक सेवाको दायरा फराकिलो बनाउँदै जनताको दैनिक सेवा प्रवाहसँग जोड्नुपर्ने बताएकी हुन् ।
उनले भनिन् ‘सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरुमा व्यापक कटौती भएको छ । सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्याउने गरी सेवा प्रवाहका विन्दुहरू तय गरिएको थियो । विद्यमान अवस्थामा सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणाली बमोजिम पुनःसंरचना गर्न आवश्यक देखिएको छ । चालु आर्थिक वर्षबाट नै यसको सुरुवात गरी ‘एक स्थानीय तह, एक हुलाक’ को अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको छ ।’
उनले मुलुकभर आफ्नो सेवा प्रवाहको सञ्जाल रहे पनि परम्परागतरुपमा अब हुलाक सेवालाई प्रभावकारी बनाउन नसकिने उल्लेख गर्दै उनले व्यापक सुधार ल्याउन सेवा प्रवाहलाई आधुनिक र प्रतिष्पर्धा बनाउनु सरकारको उद्देश्य रहेको बताएकी छन् ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरण जस्ता नागरिकका आधारभूत सेवा वितरण हुलाकबाट अनिवार्य गर्नेतिर योजना बनाउनुपर्ने बेला आएकोमा उनको भनाई छ ।