काठमाडौं । मुख्य सचिव बैकुण्ठ अर्यालले, बजार मूल्यमा एकरुपता ल्याउन सन्दर्भ मूल्य स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
आइतबार चाडपर्वमा बजार अनुगमन र नागरिकको दायित्व विषयक कार्यक्रममा उनले पर्व लक्षित सुपथ मूल्य सञ्चालन गर्ने भन्दा सधैं सुपथ मूल्यमा सामान उपलब्ध गराउन सरकारले सन्दर्भ मूल्य स्थापित गनुपर्ने बताए ।
उनले भने, ‘सरकारले गरेको व्यापार भनेको अरु केही होइन सन्दर्भ मूल्य स्थापित गर्दिने र सरकारका सस्थाहरुलाई अनुदान दिने होइन । गर्ने भनेको सरकारका निकायले व्यापार गरेर खर्च कटौटी गरी नाफा कमाउने हो । त्यो त गर्न सकिँदो रहेछ नि । निजी व्यापारीक संस्थाले त्यो गर्न नसक्ने भन्ने कुरामा त्यो बजार सन्दर्भ मूल्य बताउनको लागि सरकारले सन्दर्भ मूल्य तोक्र्नुपर्छ , काम गर्छ ।’
उनले बजार अनुगमनलाई सरकारका संयन्त्रले वान टाइम विजनेसको रुपमा भन्दा सधैं निरन्तरता दिनुपर्नेमा जोड दिए ।
‘समन्वय र अनुगमनका संयन्त्रबीचमा तालमेल भएन भने जहिले पनि समस्या हुन्छ। मैले अलिबढी जोड दिएको र प्रष्ट निर्देशन दिदै आएको कुरा भनेको यो विषयलाई एउटा वान टाइम विजनेसको रुपमा नलिऔँ ।
सधैं बजार अनुगमन गर्दियो भने व्यवसायीलाई पनि फाइदा हुन्छ भन्ने लाग्छ’ अर्यालले भने ।
उनले उत्पादन, बजार र उपभोक्तासँगका वितरण प्रणालीमा तालमेल मिलाउन नसक्दा समस्या आएको स्वीकारे । उनले देशको उत्पादनको वितरण प्रणालीमा सुधार गरी थोरै सुव्यवस्थित गर्न सकेमात्र पनि बजारमा सकारात्क हस्तक्षेप गरी उपभोक्तालाई राहत दिन सक्ने उनको धारणा छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागका महानिर्देशक तिर्थराज चिलुवालले बजारमा स्वच्छ नभए पनि विभागले आफ्नो ढंगबाट बजार अनुगमन गरिरहेको बाताए । उनले अपेक्षित रुपमा बजार अनुगमन नभएको गुनासोको सम्बोधन गर्ने भन्दै केही दिनमै अत्यावश्यक वस्तुको मूल्य विश्लेषण गरी मूल्य सूची प्रकाशन गर्ने तयारी गरेको जानकारी दिए ।
‘केही अत्यावश्यक वस्तुहरुको मूल्यहरुको विश्लेषण गरेर मूल्य सूची प्रकाशन गर्ने तयारी गरेका छौ । चिनीको सन्दर्भमा भन्दा हामीसँग भएको १३ ओटा चिनी उत्पादन गर्ने उद्योगको अध्ययन गर्यौ । त्यसमा दुई उद्योगमा १ लाख २८ हजार क्विन्टल चिनी मौज्दात रहेको देखियो । त्यो चिनी केही कम्पनीहरुले पहिले नै बुक गरिसकेको जानकारी पाएपछि हामीले ती कम्पनीसँग चिनी बजारमा छोड्ने व्यवस्था मिलाउन आग्रह गरेका छौं । उहाँहरु सकारात्मक हुनुहुन्छ ।’
उनले विभागले संयन्त्र नै बनाएर बजार अनुगमन गरिरहेको र निगरानी गरी प्राप्त सूचनाको आधारमा आवश्यक कारबाही प्रकृया अगाडि बढाएको समेत उल्लेख गरे।
कार्यक्रममा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष देवेन्द्र श्रेष्ठले बजार अनुगमनको नाममा प्रदेश, स्थानीय तह र जिल्लाका संयन्त्रले गर्ने अनुगमनको कारण व्यवसायी हैरान भएको भन्दै बजार अनुगमनलाई एकद्वार प्रणालीमार्फत गर्नुपर्ने बताएका छन्।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले ३२ स्थानमा गरेको अनुगमन गरी निरन्तर कारबाही भैरहेको जानकारी दिए ।
उनले एक लाख सम्म जरिवाना गरेको उल्लेख गर्दै बजार अनुगमन गर्दा भएका नीतिगत व्यवस्थाले समस्या पैदा गरेको बताए ।
उनले बजार अनुगमनमा जिल्ला सम्यन्त्रका साथै स्थानीय निकायका सक्रियता नै नभएको बताए ।
उनले भने, ‘स्थानीय तहको बजार अनुगमनका लागि वास्तवमै सक्रियता छैन् । उहाँहरु जनप्रतिनिधि हुनुहुन्छ, त्यहि मान्छेहरुको भोट लिएर जित्नुभएको छ , फेरी भोट लिन त्यहि जानुपर्छ, कडा गर्न त्यति रुचाउनु हुँदैन् ।’
उनले प्रशासनिक निकायले गरेको बजार अनुगमनमा नागरिकले सकारात्मक धारणा राख्नुपर्नेमा जोड दिए ।