समिरको गोलमा चर्च ब्वाइज आहा! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश, पुलिस पराजित

समिरको गोलमा चर्च ब्वाइज आहा! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश, पुलिस पराजित

राजाराम पौडेल, पोखरा । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दैै चर्च ब्वाइज युनाइटेड क्लब २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पोखरा रंगशालाको फुटबल मैदानमा भएको खेलमा चर्च ब्वाइजलाई खेल जित्न  ७३ औं मिनेटमा समिर तामाङले गरेको गोल नै निर्णायक बन्न पुग्यो । पुलिसका गोलकिपर शत्रुधन चौधरी र डिफेन्डर दीपेन्द्र बिकको गल्तीको फाइदा उठाउदै उनले सहजै गोल गर्न सफल बने । उनीहरुबीच तालमेल नमिल्दा बल क्रस भएको थियो । दुईजना क्रस भएपछि समिरले सहज तरिकाले बललाई जाली चुमाए । दुवै टीमले गरेका अन्य प्रयास भने सफल हुन सकेनन् । खेलमा निर्णायक गोल गरेका समिर मेन अफ दि म्याच समेत हुन सफल भए । अब सेमिफाइनलमा चर्च ब्वाइजले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

खेल पश्चात प्रतिक्रिया दिँदै चर्च ब्वाइजका कप्तान कमल श्रेष्ठले जुनियर र सिनियरको मिश्रणमा टीम तयार पारेर खेल्दा समेत जित निस्केकोमा खुशी व्यक्त गरे । पहिलो हापमा टीम सेट हुन नसक्दा राम्रो खेल प्रर्दशन गर्न नसकेपनि दोस्रो हापमा नयाँ रणनीतिका साथ प्रतिष्पर्धामा उत्रदा सुखद नतिजा प्राप्त भएको खुलाए । ‘यो ग्राउण्डमा पुलिसले पहिलो म्याच खेलिसकेको थियो, हाम्रो पहिलो म्याच थियो, त्यहीं भएर पहिलो हापमा संयोजन मिलेको थिएन, दोस्रो हापमा रणनीति परिवर्तन गरिएको थियो, सफल भयो’ उनले भने । लिग विजेता टीम भएपनि आफ्नो टीममा लिग जित्दाको २, ३ जना खेलाडीमात्र रहेको उनले बताए ।

सेमिफाइनलमा सुन्दर खेल पस्कने उनको वाचा छ । ‘पहिलो म्याचबाट अनुभव लिन पाइयो, तालिम गर्न पाइएको थिएन, कमीकमजोरी थाहा पायौं, अब एक दिनको ग्यापमा सबै मिलाएर आर्मीसँगको सेमिफाइनलमा उत्कृष्ट खेल्छौं’ उनले भने ।
जुनियर खेलाडीलाई स्थान दिँदा अनुभव नभएर फिनिसिङमा चुक्दा गोल हुन समय लागेको समेत कप्तान श्रेष्ठले प्रष्टाए । विदेशी खेलाडी बिनाको खेल ‘टप’ भएनी ‘स्लो’ भएको र यस्तो खेल हेर्दा दर्शकलाई मज्जा नहुने उनको बुझाई छ । घाइते भएको कारण मंगलबार नखेलेका अनन्त तामाङले समेत सेमिफाइनलमा खेल्ने सम्भाबना रहेको उनले जनाए ।

नेपाल पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले दोस्रो खेलमा राम्रो प्रदर्शन गर्दागर्दैपनि पराजित हुन पुगेको बताए । खेलाडीकोे गल्तीको कारण गोल खान पुग्दा खेलको माहोल परिवर्तन हुन पुगेको उनको दावी थियो । दोस्रो हापमा पर्याप्त अवसर आउँदा समेत त्यसलाई गोलमा परिणत गर्न नसकेको उनले खुलाए । ‘खेलाडी इन्जोर पनि थिए, फुड पोइजन पनि भएको थियो, त्यसले गर्दा समस्या भयो, युवा खेलाडी थिए, फाइट त गरे तर हारियो’ उनले भने । खेलाडीको हिसाबमा चर्च ब्वाइजका खेलाडी बलिया देखिएपनि पुलिसको सेट टिममा नयाँ खेलाडीको प्रयोग बढी गर्दा समेत यतिको खेल्नु नराम्रो भने नभएको उनको दावी थियो ।

माघ ९ गतेबाट पोखरा रंगशालाको फुटबल मैदानमा सञ्चालन भइरहेको यो प्रतियोगिताको पहिलो सेमी फाइनल खेल माघ १७ गते बुधबार हुँदैछ । जुन खेलको माध्यमबाट थ्रीस्टार क्लब र जाउलाखेल युथ क्लबले फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछन् । दोस्रो सेमिफाइनल खेलमा माघ १८ बिहीबार गते त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड क्लबकाबीचमा हुनेछ । प्रतियोगिताको फाइनल माघ २० गते शनिबार हुनेछ ।

२०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजना गर्ने यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालि को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । साथै पोखरा महानगरपालिकाको प्रवर्धन, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अष्ट्रेलिया समेतको विशेष सहयोग रहने छ । लुम्बिनी विकास बैंक अफिसियल बैंक छ भने बुद्ध एयर अफिसियल एयरलायन्स हो । प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबका अध्यक्ष केशवराज बरालले जनाए ।

विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी पोखरा–१७, दोविल्लामा प्रदान गरिदैआईरहेको छ । । हाल चौँथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन ।
प्रतियोगिताको विजेताले १२ लाख, उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट पाँच विधाका खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ पुरस्कार, हरेक खेलको म्यान अफ द म्याचलाई आठ हजार तथा फाइनलका म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ प्रदान गरिने आयोजकले खुलाए ।

पहिलो प्रतियोगिता क्याराभान गोल्डकपको नाउँमा खेलाइएको थियो भने त्यसपछि लगातार १० वर्ष आहा गोल्डकप, त्यसपछि आहा रारा गोल्डकप हुँदै अहिले आहा रारा पोखरा गोल्डकपका नाउँमा प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ ।

तस्विर: सुदर्शन रञ्जित

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्