राजाराम पौडेल, पोखरा । मनाङ मर्स्याङ्दी क्लबलाई सडन डेथमा ७–६ गोल अन्तरले पराजित गर्दै जाउलाखेल युथ क्लब २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार पोखरा रंगशालाको फुटबल मैदानमा भएको खेलमा जाउलाखेललाई जित दिलाउन गोलकिपर युनेश चौधरी नायक सावित भए । खेल पेनाल्टी सुट आउटमा जाने निश्चित भएपछि अन्तिम समयमा गोलकिपर अनिष देउलाको ठाउँमा चौधरीलाई पठाउने निर्णय प्रशिक्षक नरेश थापाले गरेका थिए । उनको निर्णय सही देखियो । नवौं खेलाडीको रुपमा मनाङका रणदीप पौडेलले प्रहार गरेको बल गोल हुनबाट जोगाएर उनले टीमलाई जित दिलाएका थिए ।
पेनाल्टी मार्फत मनाङका जय गुरुङ, अशोक खवास, सुदीप श्रेष्ठ र अस्बिन घोरासीनीले गोल गरे भने कप्तान निशाल लिम्बु भने गोल गर्न चुके । यसैगरी सडन डेथमा लक्षु थापा मगर र जियारथ शेखले गोल गर्दा रणदीपका अलावा सुरज सिँह पनि गोल गर्न चुके ।
विजेता बनेको जाउलाखेलका हिसुब थपलिया पेनाल्टी मार्फत गोल गर्न चुक्दा विशाल तामाङ, पुष्कर खड्का, छिरिङ लामा र प्रवेश कुँवरले गोल गर्न सफल भए । सडन डेथमा सिमन्त थापा गोल गर्न चुक्दा हरिशराज भट्ट, शिशिर लेखी र प्रदीप बुढाथोकीले भने गोल गर्न सफल भए ।
यसअघि निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएको थियो । खेलको ५५ औं मिनेटमा हिसुब थपलियाले गोल गर्दै जाउलाखेललाई सुरुवाती अग्रता दिलाएका थिए । जाउलाखेल अन्तिम समयमा सम्हालिन नसक्दा मनाङले गोल गर्न पुग्यो र खेल बराबरीमा पुग्यो । खेलको ८९ औं मिनेटमा मनाङका राजेश परियारले गोल गरेका थिए । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल हुन सकेन र ट्राइबेकरमा पुगेकाे थियो । खेलमा जाउलाखेलका गोलकिपर युनेश चौधरी मेन अफ दी म्याच हुन सफल बने ।
खेल पश्चात प्रतिक्रिया दिँदै जाउलाखेलका प्रशिक्षक नरेश थापाले जितिरहेको समयमा पनि डिफेन्सिभमा भन्दा अट्याक्टीङमा जोड दिएर खेलेको कारण अन्तिम समयमा गोल खान पुगेर खेल बराबरीमा पुगेको बताए । पहिलो म्याचमा भन्दा सुधारिएको खेल दोस्रो म्याचमा खेलेको बताएका उनले दोस्रो म्याचमा दूई जना खेलाडी थपिएको बताए । सेमिफाइनलमा पनि खेलाडी थपेर टीम थप मजबुत बनाएर खेल्ने उनले खुलाए । अहिले विदेशी खेलाडी नभएको कारण सबै टीम उस्तै रहेकोले जसले हाडवर्कमा खेल्छ उसले खेल जित्ने भन्दै थ्रीस्टारसँग उत्कृष्ट खेल पस्किएर खेल जित्ने रणनीति आफ्नो रहेको बताए ।
मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक सनोज श्रेष्ठले फरक–फरक क्लबबाट खेलाडी समेटेर छोटो समयमा टीमबनाएको कारण पराजित हुन पुगेको बताए । तालिम नगरिकन सिधैं प्रतिष्पर्धामा उत्रिएको दावी उनको थियो । यो टीम आहा राराको लागि मात्र निर्माण गरिएको र लिगको लागि अर्को टीम निर्माण हुने उनले खुलाए । ‘सबैजना बाहिर खेलिरहेको थियो, कोही इलाम थियो, कोही सुदुर पश्चिमतीर थियो, सबैलाई पोखरामा जम्मा गरेर एकैचोटी आज म्याच खेलेको हो’ उनले भने । मोफसलका अन्य ठाउँमा प्रतिष्पर्धा गर्ने नगरेको थाहा नभएको बताएका उनले अब मनाङको प्रशिक्षक रहने वा नरहने एकिन नभएको समेत खुलाए ।
माघ ९ गतेबाट पोखरा रंगशालाको फुटबल मैदानमा सञ्चालन भइरहेको यो प्रतियोगितामा माघ १६ गते अन्तिम क्वाटर फाइनल खेलमा चर्ज व्वाईज युनाइटेड फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्नेछ्न । विभागीय टीम पुलिस एपीएफलाई पराजित गरेर क्वाटर फाइनलमा आइपुगेको हो । चर्ज व्वाईज भने सिधैं वाई पाएर क्वाटर फाइनलमा खेल्न लागेको हो ।
प्रतियोगिताको पहिलो सेमी फाइनल खेल माघ १७ गते हुनेछ । थ्रीस्टार क्लब र जाउलाखेल युथ क्लबले फाइनल प्रवेशका लागि खेल्नेछन् । दोस्रो सेमिफाइनल खेलमा माघ १८ गते त्रिभुवन आर्मी फुटबल क्लब र १६ गतेको विजेताबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल माघ २० गते हुनेछ ।
२०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजना गर्ने यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालि को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । साथै पोखरा महानगरपालिकाको प्रवर्धन, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अष्ट्रेलिया समेतको विशेष सहयोग रहने छ । लुम्बिनी विकास बैंक अफिसियल बैंक छ भने बुद्ध एयर अफिसियल एयरलायन्स हो । प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबका अध्यक्ष केशवराज बरालले जनाए ।
विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी पोखरा–१७, दोविल्लामा प्रदान गरिदैआईरहेको छ । । हाल चौँथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन ।
प्रतियोगिताको विजेताले १२ लाख, उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट पाँच विधाका खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ पुरस्कार, हरेक खेलको म्यान अफ द म्याचलाई आठ हजार तथा फाइनलका म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ प्रदान गरिने आयोजकले खुलाए ।
पहिलो प्रतियोगिता क्याराभान गोल्डकपको नाउँमा खेलाइएको थियो भने त्यसपछि लगातार १० वर्ष आहा गोल्डकप, त्यसपछि आहा रारा गोल्डकप हुँदै अहिले आहा रारा पोखरा गोल्डकपका नाउँमा प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ ।
तस्बिर: सुदर्शन रञ्जित















