डिफेन्डर मानबहादुर चम्कदा आहा! रारा पोखरा गोल्डकपमा पुलिस विजयी

डिफेन्डर मानबहादुर चम्कदा आहा! रारा पोखरा गोल्डकपमा पुलिस विजयी

राजाराम पौडेल, पोखरा । विभागीय टोली नेपाल पुलिस क्लबले २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार पोखरा रंगशालाको फुटबल मैदानमा भएको खेलमा अर्को विभागीय टोली एपिएफ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

दुवै गोल डिफेन्डर मानबहादुर परियारले हेड मार्फत गरेका थिए । १९ औं मिनेटमा प्रताप गुरुङको फ्रिकिक प्रहारलाई हेड मार्फत पोष्टको दिशा दिलाएर पुलिसलाई अग्रता दिलाएका थिए । खेलको ७० औं मिनेटमा पुनः हेड मार्फत नै गोल गर्दै उनले टोलीको जित सुनिश्चित गरे । खेलमा मानबहादुर मेन अफ दि म्याच समेत हुन सफल भए । एपिएफ क्लबले गोल गर्ने धेरैं अवसर खेर फाल्दा पहिलो खेलबाटै यात्रा टुंग्याउन बाध्य भयो । विजेता बनेको पुलिसले क्वाटर फाइनलमा चर्ज व्वाईज युनाइटेड फुटबल क्लबको सामना गर्नेछ ।

खेल पश्चात कुराकानी गर्दै नेपाल पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले पाएको अवसरलाई सदुपयोग गर्न सक्दा नै जित हात परेको बताए । ३, ४ जना नयाँ खेलाडीलाई स्थान दिएको कारण टीम एडजस्ट नभएको जस्तो देखिएको भने उनले स्वीकारे । अब तीन दिनको ग्यापमा थप प्राटिक्स गरेर चर्च व्वाईजसँग उत्कृष्ट खेल पस्कने उनले सुनाए ।

खेलमा दुवै गोल डिफेन्डरले गरेको प्रसंगबारे उनी भन्छन्–‘गोल भन्ने चिज डिफेन्डरले गरोस् वा स्ट्राइकरले गरोस् तर मैले प्राटिक्स सेसनमा पनि डेडबलमा अत्याधिक प्रयोग गरेको थिए, त्यो आजको रिजल्टमा पनि देखियो ।’

क्याराभानदेखि हालसम्म ६ पटक यो प्रतियोगिता जितेको पुलिसले यसपाली समेत उपाधि उचाल्ने योजनाका साथ आएको उनको भनाई थियो । आफू खेलाडी हुँदा लगातार तीन पटक यो प्रतियोगिताको उपाधि चुमेको स्मरण गर्दै प्रशिक्षक घिमिरेले खेलाडी हुँदा र प्रशिक्षक हुँदा जिम्मेवारीमा केही फरक भने पर्ने बताए । पछिल्लो समयमा फुटबल खेलाडी विदेश पलायन हुने क्रम बढ्दा सबै क्लबका खेल खस्कदै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

एपिएफ फुटबल क्लबका प्रशिक्षक सुमन श्रेष्ठले राम्रो तयारी हुन नपाएको कारण राम्रो खेल पस्कन नसकेको बताए । भारतबाट आउने भनेको आई लिग खेलेको दिल्ली फुटबल टीम नआउने भएपछि बल्ल एपिएफले प्रतियोगितामा खेल्ने अवसर पाएको हो । ४, ५ दिनको तयारीले खेल्दा फिनिसिङ लाइनमा समस्या देखिएको उनले खुलाए । ‘अवसर नपाएका होइनौ पाएका थियौं, सदुपयोग गर्न सकेनौ, चार्ज पोलमा ठोकियो’ उनले भने । मोफसलका अन्य प्रतियोगितामा समेत भाग लिने तयारी भैरहेकोले आगामी खेल व्यवस्थित बनाएर खेल्ने उनको भनाई थियो  ।पुराना खेलाडी ३५ प्रतिशत मात्र रहेको बताएका उनले क्लबले अझै केही नयाँ खेलाडी थपेर टीम मजबुत बना उने खुलाए ।

माघ ९ गतेबाट पोखरा रंगशालाको फुटबल मैदानमा सञ्चालन भइरहेको यो प्रतियोगितामा कुल १२ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अन्तरगत माघ १३ गतेबाट क्वाटर फाइनलका खेल सुरु हुनेछन् । शनिबार क्वाटर फाइनलको पहिलो खेलमा भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब भुटान र थ्रीस्टार क्लब भिड्नेछन् । थ्रीस्टार उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

माघ १४ गते दोस्रो क्वाटर फाइनल खेलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन् । माघ १५ गते मनाङ मर्स्याङ्ग्दी क्लब र जाउलाखेल युथ क्लबले सेमी फाइनल प्रवेशका निमित्त संघर्ष गर्नेछन् । माघ १६ गते चर्ज व्वाईज युनाइटेड फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्न्छन् । पहिलो सेमी फाइनल खेल माघ १७ गते हुनेछ । १३ गते को विजेता र १५ गतेको विजेता टीम फाइनल प्रवेशका लागि खेल्नेछन् । दोस्रो सेमिफाइनल खेलमा माघ १८ गते १४ गतेको विजेता र १६ गतेको विजेताबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल माघ २० गते हुनेछ । सबै खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

२०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजना गर्ने यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालि को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । साथै पोखरा महानगरपालिकाको प्रवर्धन, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अष्ट्रलिया समेतको विशेष सहयोग रहने छ । लुम्बिनी विकास बैंक अफिसियल बैंक छ भने बुद्ध एयर अफिसियल एयरलायन्स हो । प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबका अध्यक्ष केशवराज बरालले जनाए ।

विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी पोखरा–१७, दोविल्लामा प्रदान गरिदैआईरहेको छ । । हाल चौँथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन ।

प्रतियोगिताको विजेताले १२ लाख, उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट पाँच विधाका खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ पुरस्कार, हरेक खेलको म्यान अफ द म्याचलाई आठ हजार तथा फाइनलका म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ प्रदान गरिने आयोजकले खुलाए । पहिलो प्रतियोगिता क्याराभान गाेल्डकपकाे नाउँमा खेलाइएकाे थियो भने त्यसपछि लगातार १० वर्ष आहा गाेल्डकप, त्यसपछि आहा रारा गोल्डकप हुँदै अहिले आहा रारा पोखरा गोल्डकपका नाउँमा प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ ।

तस्विर: सुदर्शन रञ्जित

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्