हिसुबको गोलमा जाउलाखेल विजयी, वर्क प्रमिट नहुँदा विदेशी खेलाडीले खेल्न पाएनन्

हिसुबको गोलमा जाउलाखेल विजयी, वर्क प्रमिट नहुँदा विदेशी खेलाडीले खेल्न पाएनन्

राजाराम पौडेल, पोखरा । मछिन्द्र फुटबल क्लबको कमजोर डिफेन्सको फाउदा उठाउदै जाउलाखेल युथ क्लबले २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

डिफेन्सलाई सहजै छलाउदै तथा गोलकिपर अगाडि बढेको फाइदा लिदै हिसुब थपलियाले खेलको ३९ औं मिनेटमा गरेको सहज प्रहार नै बिहीबारको खेलको निर्णायक गोल बन्न पुगेको थियो । हिसुबले मेन अफ दी म्याच पुरस्कार समेत जिते । अब जाउलाखेलले क्वाटर फाइनलमा मनाङ मर्स्याङ्ग्दी क्लबको सामना गर्नेछ ।

खेल पश्चात कुराकानी गर्दै जाउलाखेल युथ क्लबका प्रशिक्षक नरेश थापाले सबै खेलाडीको मेहनतका कारण सुखद नतिजा निकाल्न सकेको सुनाए । अधिंकाश खेलाडी बुधबार नै पोखरा आएपनि दुईजना खेलाडी बिहीबार मात्र आएको र राम्रोसँग तयारी गर्न नपाउँदा समेत जित निस्केकोमा खुसी व्यक्त गरें । एउटै समयमा दूई ठाउँमा खेल हुँदा खेलाडी पाउन गाह्रो भएको उनले सुनाए । मनाङसँगको खेलको लागि केही खेलाडी थप्ने योजनामा रहेकोले यो भन्दा राम्रो खेल त्यतिबेला पस्कने उनको भनाई थियो ।

मछिन्द्र फुटबल क्लबका प्रशिक्षक सन्तोष न्यौपानेले खेलाडीले राम्रो खेले पनि तालमेल नमिलेको कारण पराजित हुन पुगेको बताए । लिग सकिएपछि पुनः टीमलाई एकीकृत गर्न लागिरहेको भएपनि लामो समयको अन्तरालमा भेटेको भएर फिटनेसमा पनि समस्या देखिएकोले हार्न पुगेको बताए । खेलमा हारजित हुने भएपनि यसबाट केही अनुभव संगाल्दै तीन महिना मोफसल लक्षित खेलमा भाग लिने उद्धेश्यका साथ निस्किएको बताए । कमीकमजोरी सुधारेर अर्को ठाउँमा हुने खेलमा राम्रो गर्न लाग्ने उनले सुनाए ।

आफ्नो क्लबमा रहेका तीनजना विदेशी खेलाडीले वर्क प्रमिट नपाउँदा टीम कमजोर भएको प्रशिक्षक न्यौपानेले स्वीकारे । ‘हामीले अन्तिम समयसम्म वर्क प्रमिटको प्रतिक्षा गरेका थियौं’ उनले भने । वर्क प्रमिट नहुनेलाई नखेलाउने आयोजकको नियमका कारण तीन विदेशी खेलाडी नखेलाई सबै नेपाली खेलाडी खेलाउन परेको उनले खुलाए । विदेशी खेलाडी नहुँदा यसअगाडि मजबुत रहेको डिफेन्स लाइन कमजोर देखिएको थियो । जसका कारण गोल खान पुगेको उनले बताए । मछिन्द्रको लागि आहा रारा सधैं अनलक्की हुने गरेको भन्दै गोल मिस्टेकले खान पुग्नु र विमल घर्ती मगरको फ्रिकिक प्रहार बारमा लागेर फर्किनु दुर्भाग्य भएको सुनाए ।

माघ ९ गतेबाट पोखरा रंगशालाको फुटबल मैदानमा सञ्चालन भइरहेको यो प्रतियोगितामा कुल १२ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अन्तरगत माघ १२ गते नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले खेल खेल्नेछन् ।

माघ १३ गतेबाट क्वाटर फाइनलका खेल सुरु हुनेछन् । माघ १३ गते भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब भुटान र थ्रीस्टार क्लब भिड्नेछन् । माघ १४ गते दोस्रो क्वाटर फाइनल खेलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन् । माघ १५ गते मनाङ मर्स्याङ्ग्दी क्लब र जाउलाखेल युथ क्लबले सेमी फाइनल प्रवेशका निमित्त संघर्ष गर्नेछन् । माघ १६ गते चर्ज व्वाईज युनाइटेड फुटबल क्लब र १२ गतेको बिजेता टीम आमनेसामने हुनेछन् ।

पहिलो सेमी फाइनल खेल माघ १७ गते हुनेछ । १३ गते को विजेता र १५ गतेको विजेता टीम फाइनल प्रवेशका लागि भिड्नेछन् । दोस्रो सेमिफाइनल खेलमा माघ १८ गते १४ गतेको विजेता र १६ गतेको विजेताबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल माघ २० गते हुनेछ । सबै खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

“आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्धेश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजना गर्ने यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

साथै पोखरा महानगरपालिकाको प्रवर्धन, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अष्ट्रलिया समेतको विशेष सहयोग रहने छ । लुम्बिनी विकास बैंक अफिसियल बैंक छ भने बुद्ध एयर अफिसियल एयरलायन्स हो । प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबका अध्यक्ष केशवराज बरालले जनाए ।

विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी पोखरा–१७, दोविल्लामा प्रदान गरिदैआईरहेको छ । । हाल चौँथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन ।
प्रतियोगिताको विजेताले १२ लाख, उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट पाँच विधाका खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ पुरस्कार, हरेक खेलको म्यान अफ द म्याचलाई आठ हजार तथा फाइनलका म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाए ।

तस्विर : योगेन्द्र श्रेष्ठ

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्