विमल तिवारी,पोखरा । फेवा तालको किनारै किनार (पश्चिम तर्प) फुट ट्रेल बनाउने योजना चालु आर्थिक वर्षबाट सुरु हुने भएको छ । पोखरामा पर्यटकको बसाँइ लम्बाउने उदेश्य सहित गण्डकी प्रदेश सरकारले ‘भ्यु फेवा, राउण्ड फेवा’ नारासहित ताल किनारमा फुट ट्रेल बनाउने योजना ल्याएको थियो ।
मंगलबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापा नेतृत्वमा पर्यटन व्यवसायीसहितको टिमले उक्त ट्रेलको स्थलगत अवलोकन गरेको छ । टोलीमा मन्त्रालयका सचिव कुमान सिंह गुरुङल, मन्त्रालय अन्र्तगतको बन निर्देशनालयका निर्देशक इश्वरी प्रसाद रेग्मी, टान गण्डकीका अध्यक्ष धर्म पन्थी, उपाध्यक्ष कृष्ण आचार्य, टान पूर्वअध्यक्ष हरी भुजेल लगायतले अवलोकन गरें ।
पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले ताल किनारमा फुट ट्रेल बनाउनका लागि अगुवाइ गरिरहेको छ । फेवा तालको ड्याम साइडबाट सुरु गरी फिस्टेल लज हुदैँ तालको किनारै किनार मार्कीसम्म करिब १८ किलोमिटर पदमार्ग बनाउन सकिने प्रारम्भिक अध्यन छ ।
मन्त्री थापाले पोखरामा पर्यटकको बसाई लम्बाउन ‘भ्यु फेवा राउण्ड फेवा’ (फुट ट्रेल) ले पोखराको महत्वलाई बढाउने बताए ।
‘पोखरालाई पर्यटनको हबको कुरा गछौँ, पर्यटकीय राजधानी बनाउने भनेका छौँ अब हामी पर्यटकहरूलाई ‘वान नाइट स्टे’ बनाउने ठाउँ पनि हाम्रो छैन ।’ पर्यटकलाई एक दुइ दिन पोखरामा रहने वातावरण बनाउन सकिन्छ भन्नेमा हामीले सम्भाव्यताको खोजि गदैँ हिडेका छौँ । पोखराको भविश्यका लागि पद मार्ग बनाउन आवश्यक छ, यसले पोखराको महत्वलाई बढाउछ थापाले भने ।
फुट ट्रेल निर्माणका लागि स्थानियको सहभागितामा उपभोक्ता समिति बनाउने र निर्माण सुरु गरिने गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव कुमान सिंह गुरुङले जानकारी दिए ।
चालु आर्थिक वर्षमा ५० लाख बजेट बिनियोजन गरिएको र हरेक वर्ष बजेट बिनियोजन गरेर यसलाई पुरा गर्ने सरकारको योजना रहेको गुरुङले सुनाए ।
‘गण्डकी प्रदेशमा विभिन्न पर्यटकिय गन्तब्यहरू खोजिरहका छौँ, त्यसमा ‘भ्यु फेवा राउण्ड फेवा’ दुइवटा पाटोबाट हेरिएको छ । एउटा आउट अफ सर्किट ७२ किलोमिटर छ, अहिले फेवा तालको तिर तिरमा फुट ट्रेल बनाउन खोजिएको हो ।’
पोखरा आउने पर्यटकमा यो फुट ट्रेल बने पछि एक देखि दुई दिनको बसाई लम्बाउने टान गण्डकीका अध्यक्ष धर्म पन्थीले बताए ।
‘फेवा ताल र हिमाल नजिकैबाट देख्न सकिने, चराचुरिङगको आवास सगै छोटो दुरीको सबै भन्दा मनोरम दृष्यको पदमार्ग यो बन्ने छ । यसले भविश्यमा पर्यटकलाई आकषर्ण बढाउने पदमार्गको रुपमा लिएका छौँ ।’
फेवाको किनारमा फुट ट्रेल बनाउन पाइयो भने छोटो समयका लागि पोखरा आउने पर्यटकका लागि नयाँ आकर्षक गन्तब्य बन्न सकिने टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले बताए ।
‘यो साइकल ट्रेक पनि बन्न सक्छ । ड्यामसाइड देखी मार्कीसम्म फुट ट्रेल बनाउन सकियो भने यसले दुइ दिनको बसाई लम्बाउने मात्र हैन यहाँबाट थप पदमार्ग हिड्न चाहेमा स्तुपा र पुम्दिकोटसम्म जान सक्छ । प्रकृतिलाई पनि बचाउने यहाँ भएका जलचरलाई पनि जिवन्त राख्दै मानविय गतिबिधि बढाउन सकियो भने यसले पर्यटनलाई पनि जिवन्त राख्न सक्छ ।’















