आहा ! रारा पोखरा गोल्डकपको तयारी पुरा

आहा ! रारा पोखरा गोल्डकपको तयारी पुरा

पोखरा । २३ औं संस्करणको राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक सहारा क्लव पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दियो ।

माघ ९ देखि २० गतेसम्म हुने प्रतियोगितामा एक विदेशीसहित १२ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।

पोखरा रंगशालाको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा ९ गते उद्घाटन खेलमा सहारा क्लब पोखरा र थ्री स्टार क्लब भिड्ने छन् ।

भारतको आई लिग खेलेको दिल्ली फुटबल क्लब आउने भनिए पनि पछिल्लो समय उक्त टिम नआउने भएको गुरुङले बताए । दिल्ली नआउने भए पछि विभागीय टीम नेपाल एपिएफ क्लबले प्रतियोगितामा सहभागिता जनाउने छ ।

ए डिभिजनका आठ टिम, मोफसल र आयोजकका एक–एकले टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

ए डिभिजनका नेपाल प्रहरी फुटबल क्लब, संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, जावलाखेल युथ क्लब, मनाङ मर्स्याङ्दी क्लब, र थ्री स्टार क्लब सहभागी हुनेछन् । मोफसलबाट नवलपुरको राईजिंग स्टार फुटबल क्लब र आयोजक सहारा क्लबले खेल खेल्दैँ छन् ।

विदेशी टिम भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब,भुटान पनि प्रतियोगितामा सहभागी हुनेछ ।

प्रतियोगिताको विजेतालाई १२ लाख, उपविजेतालाई ६ लाख रुपियाँ पुरस्कार पाउने छन् । उत्कृष्ट पाँच विधाका खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपियाँ पुरस्कार, म्यान अफ द म्याचलाई आठ हजार, फाइनलका म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ प्रदान गरिने छ ।

प्रतियोगितामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी र १ करोड ४९ लाख ३ हजार खर्च हुने अनुुमान आयोजकको छ ।

प्रतियोगितामा वचत हुन आएको रकम क्लबले संचालन गरेको सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । उक्त एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन ।

प्रतियोगितामा दर्शकका लागि प्रि–क्वाटर र क्वाटरफाइनलका खेल हेर्नका लागि साधारण तर्फ एक सय र भिआइ पी तर्फ दुइ सय, सेमिफाइनलमा साधारण तर्फ दुइ सय र भि आइ पी तर्फ चार सय र फाइनल खेलमा साधारण तर्फ तीन सय र भि आइ पी तर्फ पाँच सयको टिकट दर तोकिएको क्लवका महासचिव रामजी अधिकारीले जानकारी दिए ।

२२ औँ संस्करणमा संकटा क्लबले उपाधि उचालेको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्