नेत्रहीनहरूको सहयोगार्थ ‘अँध्यारोमा खानपिन’

नेत्रहीनहरूको सहयोगार्थ ‘अँध्यारोमा खानपिन’

झापा ।  झापा नेत्रहीन सङ्घले ‘अँध्यारोमा खानपिन’ कार्यक्रमको आयोजना गरेर दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीलाई सहयोग जुटाएको छ ।

विर्तामोडको सिटीसेन्टरमा शनिबार साँझ भएको कार्यक्रममा सहभागिताका लागि जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका अगुवा र व्यवसायीले रु सात सय शुल्क तिरेर प्रवेश टिकट खरिद गरेका थिए ।

सहभागीलाई अँध्यारोमा राखेर खानपिन गराइएको उक्त कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य एकराज कार्कीले आँखामा पट्टी बाँधेर सेतो छडीमा हिँडेर उद्घाटन गरेका थिए ।

दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले कस्ता समस्या भोगिरहेका हुन्छन् भनेर अनुभूति गराउन एकछिन भए पनि उनलाई सेतो छडीको साहारामा आँखा छोपेर हिँड्न लगाइएको नेपाल नेत्रहीन सङ्घका केन्द्रीय महासचिव शिशिर खनालले बताए ।

उनले देशभरका हजारौँ दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले दया होइन अवसर खोजिरहेको बताए । उच्च शिक्षा र प्राविधिक सीप प्राप्त उनीहरूलाई रोजगारी दिएर क्षमताको प्रयोग गर्ने अवसर प्रदान गर्न स्थानीय सरकारलाई आग्रह गरें ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौला, कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई लगायतको उपस्थिति थियो ।

सहभागीहरुले खानपिनका लागि तिरेको शुल्कले दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीको शिक्षाका लागि रेकर्डिङ स्टुडियो सञ्चालनमा खर्च गरिने नेत्रहीन सङ्घका सचिव दिलकुमार राजवंशीले बताए ।

स्वास्थ्यकर्मी विनोद दाहालले ‘अँध्यारोमा खानपिन’ कार्यक्रम नेपालमा पहिलोपल्ट देख्न पाएको बताए । विदेशमा सामाजिक संस्थाले आयोजना गरेको यस्तै कार्यक्रममा सहभागिताको अनुभव रहेको उनले सुनाए । कार्यक्रममा राष्ट्रिय कलाकार रमेश प्रसाईं र डम्बर नेपालीले साङ्गीतिक प्रस्तुति दिएका थिए । दृष्टिसम्बन्धी अपाङ्गता भएका स्थानीय कलाकारले उक्त अवसरमा गीत र मुक्तक सुनाए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्