राजावादीहरूको आवाज मत्थर पार्न कार्यकारी राष्ट्रपति: राष्ट्रवादी मञ्च

राजावादीहरूको आवाज मत्थर पार्न कार्यकारी राष्ट्रपति: राष्ट्रवादी मञ्च

कठमाडौं । नेपाल राष्ट्रवादी राजनीतिक मञ्चले राजवादी शक्तिहरुको गणतन्त्र विरुद्धमा आएको राजतन्त्र पुनःस्थापनाको आवाजलाई मत्थर गर्न मुलुकमा कार्यकारी राष्ट्रपतिको व्यवस्था गरिनुपर्ने माग राखेको छ । शनिबार संवाद डबलीमा गरिएको पत्रकार सम्मेलनमा मञ्चका अगुवाहरुले विदेशीले चलखेल गर्न सक्ने संसदीय व्यवस्थाका कारण प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको बताए ।

मञ्चका संयोजक टीएस तामाङले हजारौंको बलिदानबाट प्राप्त अहिलेको गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठ्नुको मुख्य दोषी मुख्य दलहरु नै भएको आरोप लगाए । पछिल्लो समयमा दुर्गा प्रसाई लगायतका व्यक्तिहरुले जनजीविकाको मुद्दाको फेरोमा राजतन्त्रको पुनःस्थापनाको आवाज उठाउनु गलत भएको उनले बताए ।

प्रसाईले उठाएका राजतन्त्रको मुद्दा बाहेकका जनपक्षीय मुद्दामा आफूहरुको ऐक्यबद्धता रहेको समेत संयोजक तामाङको भनाइ थियो । दुर्गा प्रसाईको संघर्षमा सरकारी दमन गलत भएको बताउँदै उनले भने ‘लोकतान्त्रिक संघीय गणतन्त्रको मूल्यमान्यता विपरीत प्रशासनको प्रसाई माथिको धरपकड र आन्दोलनमाथिको हस्तक्षेप निन्दनीय छ, त्यस किसिमका कार्य तत्काल रोकियोस् ।’

गत अक्टोबरमा भारतका प्रधानमन्त्री नरेन्द्र मादीले नेपाली भूमि कालपानी, लिपुलेक लगायतमा गरेको भ्रमणलाई हस्तक्षेपकारी भूमिकाको संज्ञा दिदै तामाङले विरोध गरे । ‘सरकार त लाचार भयो भयो नै, त्यसमाथि नागरिक स्तर कतैबाट पनि प्रतिक्रिया नआउनु दुःखद् विषय हो । हामी भारतीय विस्तारवादी नाङ्गो हस्तक्षेपको घोर भत्र्सना गर्दछौं,’ उनले भने ।

वर्तमान सरकारले नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी लगायतका विभिन्न प्रकरणहरूलाई सत्ता टिकाउन बार्गेनिङको अस्त्र बनाएको भन्दै नागरिक खबरदारी जरुरी रहेको उनले बताए ।

मञ्चका प्रमुख संरक्षक तेज पुडासैनीले गणतन्त्रका लागि लड्नेहरु नै अहिले व्यवस्थाको चुनौतीको कारक भएकाले त्यस्ताविरुद्ध नयाँ अभियान सुरु गरेको बताए । पत्रकार सम्मेलनमा केन्द्रीय संयोजन समितिका सदस्यहरु दानबहादुर विष्ट, किरण थापा मगर, सिद्धान्त थापा मगर र सुष्मा राना मगर लगायतले मुलुकको राजनितिक समस्यालाई निकास दिन लड्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्