‘दिमाग खराब’ टीमको अडानले बनायो ५० प्रतिशत सेयर पाउने सुनिश्चितता

दिमाग खराबको ‘शो’ घटाइनु दुर्भाग्यपूर्ण, ५० प्रतिशत सेयर जायज: विकास बोर्ड

पोखरा । नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच ६ बुँदे सम्झौता भएको छ । सम्झौतासँगै अब हलमा चलचित्र प्रदर्शन भइञ्जेल निर्माताले ५० प्रतिशत सेयर पाउने भएका छन् । सम्झौतामा नेपाल चलचित्र संघका तर्फबाट अध्यक्ष विरेन्द्र नारायण श्रेष्ठ र नेपाल चलचित्र निर्माता संघका तर्फबाट अध्यक्ष नवल खड्काले हस्ताक्षर गरेका छन् ।

उनीहरुले स्वदेशी चलचित्र उद्योगको बृहत्तर हितको लागि स्वदेशी चलचित्र निर्माण, वितरण तथा प्रदर्शनमा उच्च प्राथमिकताको मान्यतालाई स्थापित गर्न तथा नेपाली चलचित्र उद्योगलाई व्यवस्थित मर्यादित एवं सर्वसुलभ तरिकाले प्रदर्शन गर्न गराउनका लागि नेपाली चलचित्र उद्योगसँग प्रत्यक्ष सरोकार राख्ने व्यवसायिक संघहरु नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच ६ बुँदामा सहमती भएको बताएका छन् ।

यसरी गरिएको ६ बुँदा सहमती स्वदेशी चलचित्र उद्योगका लागि कोशेढुंगा सावित हुने उनीहरुको विश्वास छ ।यसको कारण चलचित्र प्रदर्शक र चलचित्र निर्माता बीचका व्यवसायीक असमझदारी सदाको लागि अन्त्य हुने अपेक्षा समेत दुवै संस्थाले गरेका छन् ।

यसअगाडी चलचित्र दिमाग खराब युनिटले नेपाली चलचित्रलाई हलमा कम शो दिइने गरेको र तेस्रो हप्ताबाट निर्मातालाई ३५ प्रतिशत मात्र सेयर दिने अवस्था ठिक नभएको भन्दै चलचित्र प्रदर्शन रोक्ने सम्मको योजना सार्वजनिक गरेका थिए । त्यस पश्चात भएको वार्ता मार्फत चलचित्र दिमाख खराबको शो बढेको थियो भने मंगलबार र बुधबार छलफल मार्फत चलचित्र प्रदर्शन भएको अवधिमा ५० प्रतिशत सेयर निर्माताले निरन्तर पाउने अवस्थाको सुनिश्चितता भएको हो ।

निर्देशक दीपेन्द्र के खनालले लामो समय देखि रहेको सेयर बाँडफाँड तथा अन्य समस्याहरुको गुनासोहरु सकिएको बताएका छन् । चलचित्र निर्माता संघ र चलचित्र संघ एउटै मिलन बिन्दुमा उभिनु ऐतिहासिक कदम भएको उनको भनाई छ । सम्झौता अनुसार अब चलचित्रको मेरिटको आधारमा सम्माजनक शो उपलब्ध गराइनेछ ।

अभिनेत्री स्वस्तिमा खड्काले वर्षौंदेखि चल्दै आएको बहसले अन्ततः सही नतिजा ल्याएको बताएकी छन् । यो निर्णयले स्वदेशी चलचित्रलाई लामो समयसम्म ज्युँदै राख्ने मद्दत पुर्‍याउने उनको दावी छ । त्यति मात्र नभएर ठूला स्टार नराखी चलचित्र बनाउने नयाँ निर्देशक र निर्मातालाई लगानी डुब्ने चिन्ताबाट थोरै भए पनि राहत मिल्ने मात्र नभएर ‘वर्ड अफ माउथ’बाट बिस्तारै गति लिने फिल्मलाई सबैभन्दा ठूलो आड हुने भएकोले यो निर्णय सबै सिनेकर्मीको भएको उनको प्रतिक्रिया छ ।

कलाकार तथा निर्माता निर्मल शर्माले दिमाग खराब टीमको अडानाका कारण अबदेखि सबै निर्माताले चलचित्रहलबाट ५० प्रतिशत सेयर पाउने सहमती समग्र नेपाली चलचित्र निर्माताहरुको लागि सुखद समाचार भएको बताए ।

निर्देशक निश्चल बस्नेतले यो सहमतीलाई शुभ समाचार भनेका छन् । आफ्नो चलचित्रले दर्शकको माया बटुलेर तेस्रो हप्तामा प्रवेश गर्नु र आफूहरुकै अडानका कारण चलचित्र क्षेत्रमा ऐतिहासिक सम्झौता हुनुलाई उनले ‘शुभ समाचार’ भनेका हुन् । माग पुरा नभएको भए हलबाट नभई नयाँ माध्यमबाट चलचित्र दर्शकमाझ देखाउने उनीहरुको तयारी थियो । केही हदसम्म उनीहरुले लिएको अडानका कारण समेत दिमाग खराबले दर्शकलाई हलसम्म ल्याउन मद्दत गरिरहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्