विराटनगर । पहिलोपटक हुन लागेको नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलन बुधबार विराटचोकमा सुरु हुँदैछ ।
नेपाली कांग्रेस मोरङले मंगलबार सम्मेलन आयोजनास्थल विराटचोकमा पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलनमा जिल्लाका १७ वटै पालिकाका ३ हजार ५५५ जना क्षेत्रीय प्रतिनिधिहरु सहभागी हुने नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री एवं नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले जानकारी दिए । सम्मेलनमा विधान संशोधन मुख्य एजेण्डाका रुपमा प्रस्तुत गरिने लिम्बूले बताए ।
त्यस्तै प्रशिक्षण, अन्तर–जिल्ला भ्रमण, सांस्कृतिक अभियानलगायतका प्रस्तावमाथि बन्दसत्रमा छलफल हुने सभापति लिम्बूले जानकारी दिए । सम्मेलन सफल बनाउन सभापति लिम्बूको संयोजकत्वमा २५१ सदस्यीय तयारी समिति गठन गरिएको छ ।
सम्मेलनका लागि मञ्च व्यवस्थापन, स्वयमसेवक परिचाजन, अतिथि सत्कार, प्रचारप्रसारलगायत उपसमिति गठन गरिएको सचिव ललित श्रेष्ठले बताए ।
उनका अनुसार सम्मेलनमा राजनैतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ । मोरङ कांग्रेसमा ३० हजार ६२९ जना क्रियाशील सदस्य छन् ।
पत्रकार सम्मेलनमा उपसभापति भक्तिनाथ माझी, सचिवद्वय ललित श्रेष्ठ, मोदराज घिमिरे, कोषाध्यक्ष रञ्जु अधिकारी, सहसचिवद्वय भुवनेश्वर मण्डल, सञ्जय मण्डललगायतको सहभागिता थियो ।