नानीभाउको बिचल्ली, सहयोगको लागि आग्रह 

नानीभाउको बिचल्ली, सहयोगको लागि आग्रह 

दान बहादुर बुढा, मुगु । मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ५ ढुमगाँउकी ४० वर्षिय नानीभाउ बिकको शरीरको तल्लो भाग अपाङ्ग छ । जन्मजातै शरीरको तल्लो भाग अपाङ्ग रहेकी उनलाई गाउँमा सबैले हेप्ने गर्छन् । दिशा, पिसाव गर्न समेत समस्या भएपछि उनका बुबाले १० बर्ष पहिला नै गमगढी ताल्च सडकको छेउमा सानो टिनको टहरा बनाई राखेका छन् ।

अपाङ्ग भएकै कारण बोझ भई भनेर आफ्नै परिवारबाट अपहेलित हुनु परेको अपाङ्ग बिक बताउँछिन् ।

गाउँघरमा सबैले अपाङ्गी भनेर हेप्ने गरे पछि बुवाले अर्काको जमिनमा सानो टिनको टहरमा बनाएर राखेको भन्दै एक्लै बस्दा बिरामी हुँदा हिड्न, खान, बस्न, दाउरा पानी ल्याउन पनि निकै समस्या भएको उनको भनाई छ ।

उनले भनिन्, ‘म जन्मजातै अपाङ्ग भएको आमा बुवाले बताउँछन् । आमाको मृत्यु भई सक्यो, भाई बुहारी अलग बस्छन् र कहिलेकाहीँ सहयोग गरेपनि, बोझ भई भनेर हेप्छन्, गाउँघरमा सबैले अपाङ्गी भनेर हेप्ने गरे पछि बुवाले अर्काको जमिनमा सानो टहरा बनाई दिएको १० बर्ष बित्यो, अहिले म ४० बर्ष पुगें तर बिरामी हुँदा हिँड्न, खान, बस्न, दाउरा पानी ल्याउन पनि निकै समस्या हुन्छ ।’

हिउँदका दिनमा धेरै चिसो, बर्खामा हिलो र पानी टहरा भित्र आउने गरेको गुनासो गर्दै उनले थप भनिन्- सडकको छेउमा बासहुँदा गाडी, बसको धुवाँ धुलोले स्वास्थ्यमा थप समस्या हुने गरेको छ ।

 

 

नानीभाउका बुबा धर्मसिंह कामीले आफैलाई खान, लाउन समेत समस्या भएको कारण छोरीलाई केही गर्न नसकेको भन्दै सहयोगको लागि आग्रह गरेका छन् ।
उनले भने, ‘सडकको बास छ । कोठा भित्र धुवाँ, धुलो र पानी आउने गरेको छ । आमा छैन, म बुढेसकालको बुबा मलाई आफैं खान छैन, यहाँ छोरीको बिचल्ली छ कुनै मनकारी व्यक्तिले केही गास, लत्ताकपडा र बासको सहयोग गरी दिन आग्रह गर्दछु ।’

चिसो लागेसँगै दाउरा लिन, पानी भर्न पनि समस्या हुँदा नानीभाउलाई कहिलेकाहीँ भोकै रात कटाउनु पर्ने बाध्यता रहेको उनका छिमेकीहरुको भनाई छ ।

सरकारले २०७२ सालमा जारी भएको संबिधानमा समानुपातिक, समावेशि, सहभागितामूलक सिद्धान्तका आधारमा विभेदरहित आर्थिक समानता, समृद्घ र न्यायपूर्ण समाज निर्माण गर्ने संकल्पसहित संबिधानको धारा ३९ को उपधारा ९ मा ‘असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ ।’ भनिएको र धारा ४२ को उपधारा ३ मा ‘अपांगता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ ।’

नेपालको जनगणना २०७८ अनुसार मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकामा कुल जनसंख्या २४ हजार ५ सय २७ जना रहेकोमा अपाङ्गता भएकाहरु ६ सय ३७ जना रहेका छन् ।

छाँयानाथ रारा नगरपालिकाका सूचना अधिकारी शिवहरि रोकायाका अनुसार पालिकाभर अपाङ्गता भएका नागरिकहरुको पहिचानका लागि न्यायीक समितिले छुट्टै संयन्त्र बनाई काम गरिरहेको र अपाङ्गहरुको वर्गीकरण समेत गरिएको छ ।

उनले चुनावपश्चात पालिकाभर एकपटक अपाङ्गता भएकाहरुलाई विभिन्न लत्ताकपडा तथा आवश्यक सामग्रीहरु वितरण गरिएको र नियमित रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको दाबी पनि गरेका छन् ।
नानीभाउ एक नमूना मात्र हुन्, देशभर राज्यका तीनै तहका नीतिनिर्माणकर्ताहरुले यस्ता धेरै नागरिकहरुलाई महत्वका साथ नहेरेको देखिन्छ ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्