विराटनगर । प्रहरीले लागूपदार्थ र लागूऔषध ओसारपसार, कारोबार एवं प्रयोग नियन्त्रण गर्न कडाइ गरेपछि दुर्व्यसनीहरु सीमा नाकाबाट भारतीय बजार पुग्ने गरेका छन् ।
भारतीय बजारमा लागूपदार्थ सेवन गर्ने र कतिपयले लुकाएर ल्याउने प्रयास पनि गरिहेका हुन्छन् ।
यसरी लागूऔषध प्रयोगका लागि भारततिर जानेहरुको पनि प्रहरीले निगरानी गर्न थालेको छ ।
यस क्रममा पछिल्लो पटक प्रहरीले ६५ जना लागूऔषध प्रयोगकर्ताहरुलाई भारततर्फ जानबाट रोकेको छ । यो आर्थिक वर्षको तीन महिनाको अवधिमा १ हजार ८०० जनालाई प्रहरीले नाकाबाट फर्काएको छ ।
धरान, इटहरी, केराबारी, बेलबारी, उर्लाबारी, विराटनगरलगायत सुनसरी र मोरङका विभिन्न स्थानबाट लागूऔषध सेवनका लागि भारत जान लागेकाहरुलाई प्रहरीले फर्काएको हो ।
उनीहरु मोरङको रानी, दरैया लगायत सीमा नाकाबाट भारतको जोगबनीतर्फ जान लागेका थिए । जोगबनीमा पुगेर लागूऔषध सेवन गर्ने र फर्कने क्रम बढेपछि प्रहरीले निगरानी बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार त्यसरी भारत जानबाट रोकिएको लागूऔषध सेवनकर्ताहरुलाई सामूहिक रुपमा सम्झाइ बुझाइ गर्ने गरिएको छ ।
उनीहरुलाई ‘क्याम्पेन अगेन्स्ट नार्कोटिक्स’ को होल्डिङ सेन्टरमा राखेर परामर्श दिने गरिएको छ ।
त्यस क्रममा लागूऔषध दुरूपयोगबाट हुने गम्भीर व्यक्तिगत, पारिवारिक एवम् सामाजिक समस्याहरूको बारेमा चर्चा गर्नुका साथै यस्तो कुलतबाट बच्न अपनाउन सकिने सिर्जनात्मक उपायहरूको बारेमा समेत जानकारी गराइएको दाहालले बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरेको अभियानअन्तर्गत यो आर्थिक वर्षको तीन महिनामा १ हजार ८०० जनाभन्दा बढी लागूऔषध सेवनकर्ताहरुलाई नाकाबाट घर फर्काइएको जनाइएको छ ।