काठमाडौं। जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भई बुधबार स्वदेश फर्किएकीछिन् ।
जापानको हरतसुगासी कानागावास्थित टोकाइ विश्वविद्यालयमा एक महिना भएको सेमिनारमा देवकी सहभागी थिईन्।
एनपीओ जुडोसले आयोजना गरेकोसेमिनारका केही कक्षा जापान कोदोकानमा पनि भएको थियो।
जुडोको कोचिङलगायत विविध शिक्षा हासिल गर्ने क्रममा देवकीले जापानको विभिन्न डोजो, जुनियर हाइस्कुल, सिनियर हाइस्कुल, कलेज, विश्वविद्यालयमा प्रशिक्षण गर्ने अवसर पाएकी थिईन्।
देवकीलाई एनपीओ जुडोसका मुख्य प्रशिक्षक मिसुमोटोलगायतले प्रशिक्षण दिएका थिए। गैरनाफामूलक संस्था एनपीओ जुडोसका अध्यक्ष ओलम्पिकका स्वर्ण विजेता कोसेईं इनोइ हुन्।
नेपाल जुडो संघका सदस्यसमेत रहेका बन्दी सहायता नियोग (पाम) का जुडो प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठले यस्तो सेमिनारमा नेपालबाट जुडोमा सहभागी हुने देवकी पहिलो खेलाडी भएको बताए।
देवकी पाममै सात वर्षको उमेरदेखि हुर्किएकी हुन् भने त्यहीँबाट देवकीले सन् २००९ देखि जुडो खेल्न थालेकी थिईन्।
देवकी हाल पाममा सहायक प्रशिक्षक हुन् उनले हालै चीनको होङजाउमा भएको १९ औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेकी थिईन्।
देवकीका दाइ इन्द्र र निशा पनि आ आफ्नो तौलसमूहका जुडोकै राष्ट्रिय च्याम्पियन हुन। देवकीले सेमिनारबाट आफूले महत्वपूर्ण ज्ञान हासिल गरेको बताउँदैसिकेको सिप अरुलाई पनि सिकाएर व्यवहारमा लागू गर्ने बताईन्।
प्रशिक्षक सूर्यनारायणले देवकीले हासिल गरेको ज्ञानबाट नेपाली जुडोलाई धेरै फाइदा पुग्ने बताउँदै यस्ता तालिममा नेपालको सहभागिता नियमित हुन सके नेपाली जुडोको विकासमा समेत टेवा पुग्ने धारणा व्यक्त गरे।