काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा आएका विश्वका धनीहरूको संगठन (फ्रिडम फण्ड) का पदाधिकारीबीचमा भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा आज भएको भेटमा नेपाल सरकारका प्राथमिकता र फ्रिडम फन्डले गर्नसक्ने सहयोगका बारेमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।
श्रमिक एवम् कामदारहरूमाथि हुने घरेलु , लैङ्गिक र आर्थिक हिंसाविरोधी अभियानमा सामाजिक संस्थामार्फत सहयोग पुर्याउँदै आएको फ्रिडम फन्डले नेपाल सरकारसँग समेत सहकार्यको प्रस्ताव गरेको थियो। त्यसक्रममा टोली प्रमुख नताशा डोल्बी र प्रतिनिधिहरूले अनुचित लेनदेन(मिटरव्याज) नियन्त्रणसम्बन्धि कानुन निर्माण र लागु गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठप्रति आभार व्यक्त गरेको सचिवालयले जानकारी गराएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले फण्डका पदाधिकारीसँग कृषि, हाइड्रोपावर, पर्यटन र जडिबुटी गरी नेपालको विकासका मुख्य चार क्षेत्रमा सहकार्य जरुरी रहेको बताए । यस्तै राजनीतिक परिवर्तनलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा एकाकार गर्ने लक्ष्य बोकेको वर्तमान सरकारको भन्दै मन्त्री श्रेष्ठले फन्डबाट हुने सबै सहकार्य र सहयोगहरूत्यसैमा केन्द्रित होस् भन्ने चाहना आफुहरूको भएको धारणा राखेका छन् ।
सन् २०२६ देखि नेपाल विकासशील देशमा स्तरोन्नति हुने भएकाले पनि भौतिक र सामाजिक विकासको रफ्तारलाई अघि बढाउन सहयोगको खाँचो रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । टोली प्रमुख र प्रतिनिधिहरूले नेपालमा बालविवाहको दर घट्दै गएकोमा खुशी व्यक्त गरेका छन् ।