‘घरभित्र हुने हिंसाबाटअझै पनि महिलाहरु पीडित’

‘घरभित्र हुने हिंसाबाटअझै पनि महिलाहरु पीडित’

विराटनगर । एबिसी नेपालकी केन्द्रीय अध्यक्ष मिना खत्री कार्कीले घरभित्र हुने हिंसाबाट अझै पनि महिलाहरु मुक्त हुन नसकेको बताएकी छन् ।

एबिसी नेपाल झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न अन्तरक्रियामा बोल्दै अध्यक्ष कार्कीले घरभित्र हुने हिंसा अझै पनि  खुलेर बाहिर आउन नसकेको बताउँदै त्यस्ता समस्यालाई पनि उजागर गर्नुपर्ने बताइन् ।

उनले भनिन्– ‘समस्या छ, तर बाहिर ल्याउन सक्दैनन् र यो सजिलो पनि छैन । तैपनि त्यस्ता हिंसालाई पनि सहज रुपमा बाहिर ल्याउन सक्ने वातावरण बनाउनु पर्छ ।’

संस्थाले सञ्चालन गर्दै आएका गतिविधि र भावी योजनाबारे जानकारी दिंदै अध्यक्ष कार्कीले संस्थाको दीर्घकालीन व्यवस्थापनका लागि योजना बनाइरहेको जानकारी दिइन् ।

जिल्ला शाखालाई सिमा क्षेत्र, कारागारलगायतका विभिन्न चारवटा क्षेत्रमा अल्पकालीन  काम गर्न सकिने बताउँदै अल्पकालीन कार्यक्रमको प्रस्ताव ल्याउन सुझाइन् ।

सामाजिक सेवामा इतिहास बनाएको संस्थामा जोडिन पाउँदा पनि गर्व गर्नुपर्नेमा जोड दिंदै एबिसीकी महासचिव चन्द्रा विष्टले काम गर्न आवश्यक बजेटबारे स्थानीय सहकारसंग पनि समन्वय गर्न सकिने विकल्प औल्याइन् । संस्थालाई दीर्घकालीन व्यवस्थापनका लागि कोष बनाउने योजना अघि बढेको उनले बताइन् ।

कार्यक्रममा संस्थाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले काम गर्ने सिलसिलामा संस्थाले जिल्लामा भोग्नु परेको समस्याबारे अवगत गराएकी थिइन् ।

संस्था स्थापना भएदेखि हालसम्म संस्थाले गरेका गतिविधि  समेटिएको प्रतिवेदन एबिसी झापाकी सहसचिव उमा शिवाकोटीले प्रस्तुत गरिन् ।

प्रस्तुत प्रतिवेदन अनुसार एबिसी झापाले हिंसाविरुद्ध समाजमा भएका घटनाकाबारेमा आवाज उठाउनेदेखि बन्दि गृहका महिलालाई लक्षित गरी सिपमुलक (ब्याग बनाउने) कार्यक्रम सञ्चालन गरेको थियो ।

त्यस्तै सामुदायिक विद्यालयका विद्यार्थी लक्षित लागू औषध विरुद्ध सचेतनामुलक कार्यक्रम, जोखिमयुक्त समुदायलाई लक्षित गरी कानूनी परामर्श तथा सचेतनामुलक कार्यक्रम, स्टिकर अभियान, जोखिममा परेका बालबालिकालाई उद्दार सिप प्रदान र बस्ने वातावरण बनाउने लगायतका काम गरेको उल्लेख छ ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्