काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले, राहतवितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिइएको बताएका छन् ।
जाजरकोट सदरमुकाम खलङ्गा लगायतका क्षेत्रमा पुगी स्थलगत निरीक्षण पछि उनले पालिकालाई राहत सामग्री उपलब्ध गराईने र वडामार्फत वितरण गरिने बताए ।
उनले भने, “सरकारले राहत वितरण सुरु गरिसकेको छ । राहत सामग्री पालिकालाई जिम्मा लगाउने र वडामार्फत वितरण हुन्छ, यस घडीमा सबैले मिलेर राहत वितरण र अनुगमनमा सहयोग गर्नुपर्छ ।
उनले उद्धार तथा राहत वितरणबारे जानकारी लिनुका साथै राहत वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् ।
उनले भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटका स्थानीयसँग कुरा गर्दै उद्धार सकिएको र अब सरकारले सम्पूर्ण शक्ति राहत वितरण र पुनःनिर्माणमा लगाउने बताए ।
उनले बारेकोट गाउँपालिकामा दुई हजार पाँच सय परिवार घरमा बस्न नसक्ने अवस्थामा रहेको तथ्याङ्क आफूले प्राप्त गरिसकेको भन्दै प्राथमिकताका साथ राहत वितरण हुनेमा विश्वास व्यक्त गरेको छन् ।
केही राहत सामग्री आइसकेको र थप राहत सामग्री आउने क्रममा रहेको जानकारी दिदैँ उनले वडाअध्यक्ष, वडा सदस्य र राजनीतिक दलको समन्वयमा राहत वितरणलाई प्रभावकारी र निष्पक्ष बनाइनेमा जोड दिएका छन् ।