काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।
बैठक दिउँसो २ बजे बोलाइएको छ । आजको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि छ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा १० वा त्योभन्दा बढी बैठकमा अनुपस्थित संसद् सदस्यको सूचना पेश गर्ने कार्यसूची छ ।