विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् ।
कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा उनले बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरेका हुन् ।
आङ्बोलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ ।
यसैगरी नेपाली कांग्रेसका नेता केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका छन् ।
उनले कांग्रेसकै ८ र एमालेका ३९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।
केन्द्रमा गठबन्धन दलका शीर्ष नेताहरुले मुख्यमन्त्रीमा माओवादीका आङ्बोलाई समर्थन गर्ने सहमति जनाएपछि कांग्रेसको कोइराला समूह असन्तुष्ट बनेको छ ।
त्यही कारण एमालेको समर्थनमा कोइराला समूहका कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।