कर्णाली उत्सव मार्फत विचार र सार्वजनिक नीतिको बहस

कर्णाली । कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला, संस्कृति, पूर्वाधार विकास र कर्णालीको अर्थतन्त्रका गहन विचार मन्थन हुने गर्दछ ।

ऋति फाउण्डेसनद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सुझाव सङ्कलन’ कार्यक्रममा फाउण्डेसनका अध्यक्ष कमल लम्सालले ‘कर्णाली उत्सव’ विचार र सार्वजनिक नीतिको बहस भएको बताए।

उनले उत्सव कर्णालीको विम्ब, धारणा र सोच बदल्ने अभियानसमेत भएको बताए । उनले भने, “हामीले उत्सवको पहिलो र दोस्रो संस्करणमा १४/१४ सत्र, तेस्रोमा १३ र चौथोमा १६ सत्र सञ्चालन गर्‍यौँ । सबै संस्करणका सत्र गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका एक सय ८४ वक्ता राखेर विचारमाथिको बहस गरिएको छ ।”

फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले कर्णाली उत्सवको चौथो संस्करण सम्पन्न हुनुले मोफलसबाट पनि राष्ट्रिय महोत्सव गर्न सकिन्छ भन्ने मानक स्थापना भएको दाबी गरे। “यो कर्णालीलाई ब्रान्डिङ गर्ने विचार निर्माणको विशेष कार्यक्रम हो जसले खाना, भाषा, संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्‍याएको छ”, उनले भने, “लुकेको प्रतिभा पहिचान र प्रवर्द्धनमा पनि त्यतिकै योगदान दिएको छ ।”

निर्देशक गौतमका अनुसार आगामी फागुनबाट कर्णाली उत्सवको पाँचौँ संस्करण सञ्चालन हुनेछ । संस्करणको पहिलो सत्रमा भूकम्पछिको पुनःनिर्माण, राहत वितरण, अनुभव र अनुभूति र सरकारको जवाफदेहितका बारेमा विशेष बहस हुने छ । त्यस्तै, प्रदेशस्तरीय भिडियो प्रतिस्पर्धा, कर्णालीको पैकेलो पहिचान, लगानी सम्मेलन र बजेटको समुचित परिचालनका विषयमा बहस थालिने उहाँको भनाइ थियो ।

उक्त कार्यक्रमका सहभागीले कानुन कार्यान्वयन गर्ने सरोकारवालाबाट हुने गैरकानुनी गतिविधि, आयुर्वेद चिकित्सा पद्धति, खानपिन संस्कृति, युवा पलायन, उत्पादन र उत्पादकत्व, नवप्रवर्तनात्मक कार्य, विश्वका विशिष्ट सभ्यतामध्येको सिंजा सभ्यताका बारेमा पनि बृहत बहस थालनी गर्न आयोजकलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्