काठमाडौं । नेपाल र यूएईबीचमा आज प्रतिस्पर्धा हुँदैछ ।
जारी आईसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले यूएईसँग भिड्न लागेको हो ।
यो खेलमा जित्ने टोली विश्वकपमा छनोट हुनेछ । उक्त खेल मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजे देखि सुरु हुनेछ ।
एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने भएकोले दुवै टीम जीतको खोजीमा हुनेछन् ।
नेपाली टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले शुक्रबार युएईसँग हुने सेमीफाइनलमा यसअघिको भुल सुधार्ने प्रतिबद्धता जनाएका छन् । समुह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो । समुह चरणका दुई खेलमा भने नेपाल बिजयी भएको थियो ।
यता यूएईले भने मूलपानीमा भएको समूह ‘बी’ को अन्तिम खेलमा हङकङलाई २२ रनले पराजित गर्दै समुह चरणका तीन खेलमानै अपराजित रहदै समूह विजेता बनेको हो ।
नेपालमा आयोजना भएकाे त्रिकोणात्मक सिरिजको फानलमा यूएईसँग पराजित भएको बदला समेत लिएर विश्वकपमा छनोट हुने नेपालको लक्ष्य रहनेछ । उच्च मनोबलका साथ फाइनल पुगेकोले यूएई समेत नेपाललाई पराजित गर्दै विश्वकपमा स्थान बनाउन चाहन्छ ।
टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।