काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद चन्द्र भण्डारीले नेपालीहरुलाई बाहिर देशमा बिक्री गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् ।
आज प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले नेपालीहरु बाहिर जाने काम बन्द गर्नका लागि रोजगारी सिर्जना गर्नुपर्ने भन्दै त्यसका लागि राष्ट्रिय एजेण्डा बनाएर अगाडि बढ्नु पर्ने बताए ।
उनले भने, ‘नेपालीहरुलाई बिक्री गर्ने काम बन्द गर्नुपर्छ त्यसका लागि रोजगारी सिर्जना गर्नुपर्छ । अहिले हामी किन पछाडि परेको भन्दा हाम्रो राष्ट्रिय एजेण्डा नभएर हो । जबसम्म हामीसँग राष्ट्रिय एजेण्डा हुँदैन तबसम्म जोसुकै प्रधानमन्त्री भए पनि मुलुक अगाडि बढ्न सक्दैन ।’
उनले नयाँ दलहरुलाई स्वागत गर्दै उनीहरुलाई चुनौतीको रुपमा लिन नहुने बताए । उनले भने, ‘हामीले प्रतिस्पर्धा गर्ने हो, नयाँ आएका दलहरुले प्रश्न उठाए भने हामीले गर्व गर्नुपर्छ चुनौती गर्ने युवाहरु आए भनेर । अब हामीले कस्तो काम गरेर त्यसलाई ठिक ठाउँमा ल्याउने भनेर काममा प्रतिस्पर्धा गर्ने कुरा हो । व्यवहारमा प्रतिस्पर्धा गर्ने कुरा हो । नयाँ राजनीति गर्ने युवाहरुलाई स्वागत छ, उनीहरुलाई हाम्रो अनुभवले जित्न सक्छ भनेर देखाउनु पर्छ ।’
देशको ४० अर्ब पैसा बाहिर जाँदा, भारतको सिमानामा कलेजहरु खोल्दा र विकास निर्माणका कामहरु अस्तव्यस्त हुँदा पनि कसैलाई मतलब नरहेको उनले उल्लेख गरे ।