विराटनगर । सूर्योदय अवलोकन गर्न उत्कृष्ट स्थानका रुपमा परिचित इलामको अन्तुडाँडामा यतिबेला पर्यटकहरुको चहलपहल छ ।
कात्तिक र मंसिर महिनामा मौसम सफा हुने भएकाले उदाउँदै गरेको सूर्य अवलोकन गर्नेहरुको भीड हुने गरेको छ ।
यसैगरी यो मौसममा पहाडी र तराईका फाँटका साथै उत्तरतिर कन्चनजंघा हिमशृंखला पनि अवलोकन गर्न सकिन्छ ।
कृषि कर्मबाट सुधारिएको जीवनशैलीका साथै अल्पसंख्यक लेप्चा र अन्य जनजातिहरुको संस्कृति पनि उक्त क्षेत्रमा देख्न पाइन्छ ।
भारतको दार्जिलिङसँग सीमा जोडिएको इलामको पूर्वी क्षेत्रमा पर्ने अन्तुमा पछिल्लो समय पर्यटकीय पूर्वाधारहरु व्यवस्था गरिएपछि सहज भएको छ ।
स्थानीय तहहरुले पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिन थालेकाले पहिलेभन्दा धेरै सुधार भएको स्थानीय सन्तोष अधिकारी बताउँछन् ।अन्तु क्षेत्रमा पोखरी र पार्कहरु पनि बनाइएका छन् । पर्यटकका लागि होमस्टे र होटलहरुको सुविधा पनि यहाँ पाइन्छ ।
सूर्योदय र प्राकृतिक दृश्यहरुको अवलोकन गर्न अन्तु र आसपास क्षेत्रमा झापा, मोरङ, सुनसरीलगायत नेपालका विभिन्न स्थानका साथै भारतबाट पनि पर्यटक पुग्ने गरेका छन् ।