राजाराम पौडेल, पोखरा । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको ‘दुई नाटक’ नवलपुरमा मञ्चन हुने भएको छ । यस अगाडि गत साउन महिनामा पोखरामा मञ्चन भएको यो नाटक यहीं कार्तिक १९ गतेदेखि देवचुली नगरपालिका १७ फारममा रहेको बरचुली माविमा मञ्चन हुने तय भएको हो । जसको तारतम्य ह्याप्पी एफएम नवलपुरले मिलाएको छ ।
कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर ‘दुई नाटक’ तयार भएको छ ।
नाटकमा जुजुलालको भूमिकामा मिलन श्रेष्ठ, भाजुलालको भूमिकामा धनकाजी श्रेष्ठ, सानुमानको भूमिकामा प्रथम श्रेष्ठ, भक्तको भूमिकामा सुसन पौडेल, बुढिमाको भूमिकामा सोनिया कार्की खत्री र बुहारीको भूमिकामा रञ्जु दाहाल तथा अनुषा परियार देखिनेछन् ।
यसैगरी लालको भूमिकामा रोहित पौडेल, जमानसिंहको भूमिकामा रमेशबाबु तिमल्सिना, पानवालाको भूमिकामा सुसन, कान्छोको भूमिकामा मिलन श्रेष्ठ र बतासेको भूमिकामा रोशनी रामदामले अभिनय गर्नेछन् ।
भीमनिधि तिवारीले लेखेको कथा र एकांकी पोखरा थिएटरका संस्थापक परिवर्तनको परिकल्पना र निर्देशनमा तयार भएको हो । विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको यस नाटकले पोखरामा दर्शकको राम्रो साथ पाएकोले नवलपुरको मञ्चन पनि भव्य बन्ने उनको विश्वास छ ।
नाटकले विद्यार्थीलाई उनीहरुको स्थानिय संस्कृतिसँग जोड्ने मात्र नभएर समाज र इतिहासमा कलाको प्रभावबारे सिकाएको छ । ‘यो नाटकले विद्यार्थीको लागि व्यवहारिक दृष्टिकोण प्रदान गर्नेछ, उनीहरुमा विषयवस्तु तथा सन्देशहरुको विश्लेषण र व्याख्या गर्ने क्षमता बढाउनेछ’ निर्देशक परिवर्तनले भने ।
नाटकलाई सुन्दर बनाउन प्राविधिक प्रमुखको जिम्मेवारी रमेश बाबु तिमल्सिनालाई दिइएको छ । ध्वनि परिचालनमा रञ्जु दाहाल र अनुषा परियार, प्रकाश परिचालनमा सोनिया कार्की खत्री र दिप्शना विश्वकर्मा, वेषभूषामा रोशनी रामदाम, यातायात तथा खाजा खानामा प्रकाश पराजुली, कलाकार प्रबन्धक तथा निर्देशन सहयोगीमा सोनिया कार्की खत्री र लेखाको जिम्मेवारी अञ्जु दाहालले पुरा गर्नेछन् ।
यस अगाडि गत फागुन १६ देखि १९ गतेसम्म नवलपुरमा नाटक एक चिहान समेत मञ्चन गरिएको थियो । यहीं नाटकबाट पाएको दर्शकको साथका कारण दुई नाटक मञ्चन गर्न हौसीएको आयोजक ह्याप्पी एफ एमका स्टेशन म्यानेजर आर्दश सुशिलले जनाए । पछिल्लो समयमा नाटकप्रतिको क्रेज नवलपुरमा बढ्न थालेको उनको भनाई छ ।
नाटक एक घण्टा अवधिको रहेको छ । नाटक हेर्नको लागि विद्यार्थीले २ सय रुपैयाँ र अन्य सर्वसाधरणले ३ सय रुपैयाँको टिकट काट्नुपर्नेछ । नाटक मञ्चन विहान साढे १० बजे, दिउँसो सवा १२ बजे र दिउँसो २ बजे हुनेछ । टिकट बुकिङ खुला भैसकेको आयोजकको भनाई छ ।
नवलपुरमा पुगेर नाटक मञ्चन गर्ने तय भएपछि कलाकार सहित नाटकको सम्पूर्ण टिम समेत उत्साहित बनेको छ । नाटकलाई आर्कषक बनाउन रिर्हसलदेखि प्राविधिक तयारी समेत उनीहरुले गरेका छन् । नाटक युनिट कार्तिक १७ गते पोखराबाट नवलपुर प्रस्थान गर्नेछ ।