पोखरा । कास्कीमा संयुक्त्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको निधन भएको छ ।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका -११ स्थित बेस क्याम्पमा खटिएका ढुंगानाको लेक लागेर बुधबार बिहान निधन भएको हो ।
गुटेरेसको भ्रमण पश्चात् बुधबार बिहान पैदल मार्ग हुँदै पोखरा फर्किने क्रममा ढुंगानालाई बिहान ०७:१५ बजेको समयमा अचानक श्वास प्रश्वासमा समस्या आएको थियो । त्यसपछि ०९:०५ बजेको समयमा एयर डाइनेष्टिको हेलिकोप्टर मार्फत उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा ल्याइएको थियो ।
साढे ९ बजे अस्पताल पुर्याइपछि बिहान ०९:४६ बजेको समयमा उपचारमा संलग्न चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त्ता श्रवण कुमार विकले नेपाल अहिलेलाई बताए ।
गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण बेसक्याम्पमा ११ जना नेपाली सेना र ३ जना नेपाल प्रहरी खटिएको प्रवक्त्ता विकले खुलाए ।
मोदी ६ पर्वत स्थायी ठेगाना भएका ४२ वर्षिय ढुंगाना विगत २३ वर्षदेखि प्रहरी सेवामा कार्यरत थिए ।