राजाराम पौडेल,पोखरा । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिोनियो गुटेरेसले पोखरा र यस आसपासका हिमालको सौन्दर्यताले मोहित बनाएको बताएका छन् । मंगलबार बिहान अन्नपूर्ण आधार शिविरबाट फर्किएपछि पोखराको पुरानो विमानस्थलमा अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाललाई पृष्ठभूमि बनाएर आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
झण्डै डेढ मिनेट मात्र सम्बोधन गरेका उनले सुरुवातमा पोखरामा पाएको आतिथ्यताको खुलेर प्रशंसा गरेका थिए । ‘पोखरामा गरेको अद्भुत आतिथ्यताको लागि म गहिरो कृतज्ञता व्यक्त गर्न चाहन्छु’ उनले भने ।
आफ्नो नेपाल भ्रमण विश्वलाई जलवायु परिवर्तनले पारेको प्रभावबारे स्पष्ट सन्देश दिन भएको उनले खुलाए । ‘मेरो भ्रमण जलवायु परिवर्तनले पारेको प्रभावबारे विश्वलाई स्पष्ट सन्देश दिन थियो, सुन्दर हिमाल र हिमनदी जोगाउन प्रकृतिविरुद्धको युद्ध रोक्नुपर्छ’ गुटेरेसले भने ।
नेपालले जलवायु परिवर्तनमा योगदान नगरेपनि त्यसको परिणाम भोगीरहेको भन्दै नेपाल लगायतका यो समस्या भोगेका देशलाई विश्व समुदायले साथ दिन आवश्यक रहेको समेत बताए ।
सोमबार पोखरा आएका उनले फेवातालमा मोटरबोट चढें भने पुम्दीकोटमा पुगेर पोखरा सहित यस आसपासका ठाउँ निहाले । उनलाई पोखरामा भव्य स्वागत समेत गरिएको थियो ।
भ्रमणलाई लिएर पर्यटन व्यवसायी उत्साहित
महासचिव गुटेरेसको भ्रमणसँगै पोखराको पर्यटन क्षेत्रमा थप रौनकता थपेको व्यवसायीको प्रतिक्रिया छ । भ्रमणलाई लिएर उनीहरु उत्साहित भएका छन् ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरेलीले प्राप्त गरेको अवसरलाई राम्रोसँग सदुपयोग गरेको बताए । जसका कारण यहाँको पर्यटन प्रवर्द्धनमा गुटेरेसको भ्रमण कोशेढुंगा सावित हुने उनको विश्वास छ ।
‘पोखरेलीको लागि एकदमै ठुलो अवसर थियो, अवसरको सदुपयोग पोखरेली जनताको तर्फबाट राम्रोसँग गर्यौं जस्तो लाग्छ, यो पर्यटन प्रवर्द्धनका लागि कोशेढुंगा सावित हुन्छ’ श्रेष्ठले नेपाल अहिलेसँग भने ।
संसारभरी पोखरा र अन्नपूर्ण हिमालको धेरैं प्रचार भएको कारण यो भम्रण पर्यटन क्षेत्रको लागि धेरैं उपलब्धीमुलक बन्ने बताए । अब खस्किएको अन्नपूर्ण रिजनको पर्यटन व्यवसायमा नयाँ तरंग ल्याउने दावी उनको छ ।
‘अन्नपूर्ण बेसक्याम्पमा भ्रमण गर्नुभयो, त्यसले गर्दा पहिला एकदम राम्रो रहेको अन्नपूर्ण रिजनको समग्र ट्रेकिङ व्यवसाय बिचमा खस्किएको थियो, उहाँको भ्रमणले ट्रेकिङ रुट यतिधेरैं प्रचार प्रसार भयो, अब पक्कै विदेशी पर्यटकहरु पदयात्राको लागि उल्लेख्य रुपमा त्यो रुटमा पुग्छन् भन्ने हामीलाई विश्वास छ’ अध्यक्ष श्रेष्ठले भने ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले केही समय अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ गएपछि भारतीय पर्यटकको संख्यामा भएको वृद्धि जस्तै गरी गुटेरेसको भम्रणले पनि नयाँ तरंग ल्याउने आशा व्यक्त गरें ।
‘केही समय अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ गएपछि भारतीय पर्यटकहरु ह्वात्तै पोखरा आएका थिए, त्यसरीनै गुटेरेसले गरेको सकारात्मक कुराका कारण विदेशी पर्यटक बढ्ने छन्, उहाँको भ्रमणले पोखरालाई थप चिनायो’ सुवेदीले नेपाल अहिलेलाई भने ।
गुटेरेसको भ्रमणले भिआईपीहरु पनि सजिलै पोखरा जान सक्ने रहेछन् र पोखरा रमाउने खालको ठाउँ रहेछ भन्ने खालको सन्देश दिएकोले पर्यटन क्षेत्रमा यसले राम्रै फाइदा पुग्ने आकलन उनको छ । भ्रमणको क्रममा मौसमले समेत साथ दिएकोले विश्वभर सकारात्मक समाचारको सञ्चार गर्ने उनको विश्वास छ ।
‘मौसमले पनि राम्रो साथ दियो, राम्रोसँग हिमाल खुल्यो, हिजो आउँदा पनि पुरैं हिमाल देख्नुभयो, आज बिहान फर्कदा पनि छर्लङ्ग देखियो, पोखराको प्राकृतिक सुन्दरता हेरेर खुशी भएर जानुभयो, यसले पर्यटन क्षेत्रमा सकारात्मक समाचारको सञ्चार गर्ने मात्र नभएर थला परेको पर्यटन व्यवसाय फेरी पुरानो अवस्थामा फर्कन ठुलो सहयोग गर्छ’ उनले थपे ।