राजतन्त्रका पक्षमा मोटरसाइकल र्‍यालीको तयारी

राजतन्त्रका पक्षमा मोटरसाइकल र्‍यालीको  तयारी

काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न माग गर्दै मोटरसाइकल र्‍याली गर्ने भएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले गणतन्त्रको खारेजी र ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्नका लागि जनदबाब सिर्जना गर्न कात्तिक १८ गते मोटरसाइकल र्‍याली आयोजना गरिने जनाएको हो ।
मोटरसाइकल र्‍याली साढे १२ बजे बिजीमहल अगाडिबाट सुरु हुने बताइएको छ ।

पत्रकार सम्मेलनमा शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनताले आफूहरुलाई राजा कहिले आउँछन् भनेर विशेष चासोका साथ सोधिरहेको दाबी गर्दै राजा, राजसंस्था र हिन्दु राष्ट्रका लागि जनता स्वःस्फूर्त सडकमा आउन आवश्यक रहेको बताए ।
अहिलेका युवाहरु देश बर्वाद भइसक्दा पनि बरु झोला बोकेर विदेश जान तयार हुने र दलहरुले देश सिध्याए भनेर गुनासो गरिरहने गरेको बताउँदै उनले उनीहरुलाई राजाको पक्षमा सडकमा आएर योगदान गर्न आह्वान गरे ।

अध्यक्ष खड्काले राजाको आशिर्वाद लिएर दसैंको टीका लगाएका मान्छेहरु मात्रै सडकमा आएको खण्डमा गणतन्त्रको चाँडै अन्त्य हुने दाबी गरे । उनले आफ्नो श्वास रहेसम्म देशमा गणतन्त्र खारेज गराएरै छाड्ने अठोट लिएको सुनाए ।
लाखौं जनता अहिले पनि गणतन्त्रको विपक्षमा रहेको उनको दाबी छ । उनले देशमा रहेका विभिन्न समस्या समाधानका लागि राजा र राजसंस्था पुनर्स्थापना एकमात्र विकल्प रहेको बताए ।

शाही युवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम बैदारले देशमा गणगन्त्रवादीहरुले फटाईँ गरेको अरोप लगाए । उनले अब जनताले सडक संघर्षबाट गणतन्त्रवादीलाई परास्त गर्नुपर्ने धारणा राखे ।

‘गणतन्त्रवादीहरु देशद्रोही र दलाल रहेछन् भनेर सम्पूर्ण नेपालीहरुले बुझिसकेको हुँदा अब तपाईँहरुले यिनीहरुलाई जहिलेसम्म शासन चलाउन दिनुहुन्छ, तबसम्म नेपाली र नेपाल आमाको आँशु खेप्नुपर्ने हुन्छ,’ उनले भने ।
वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले नेपाल धर्मनिरपेक्ष हुनै नसक्ने बताए । देशलाई धर्मनिरपेक्ष बनाउनेहरुले हिन्दुहरुको दसैंको टिका र जमरा लगाउन लाज मान्नुपर्ने उनको टिप्पणी छ ।

पृथ्वीनारायण शाहको शालिक ढालेर, एमसीसी पारित गरेर र गुटेरेसको चाकडी गरेर देश धेरै लामो समयसम्म नेपाल नरहने उनको टिप्पणी छ ।
कार्यक्रममा शाही युवा शक्ति नेपालका केन्द्रीयहरु सदस्य नयन बोगटी, रोहन शाक्य, रामेश्वर थापा, सन्तोष सिलवाल लगायतले राजा, राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना र गणतन्त्र खारेजीको पक्षमा धारणा राखेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्