बाल सुधार गृहहरूमा अझ सुधार आवश्यकः मन्त्री आचार्य

बाल सुधार गृहहरूमा अझ सुधार आवश्यकः मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बाल सुधार गृहमा भएका बालबालिकाहरुको सुधारको लागि स्वास्थ्य, शिक्षा र खेलकुदको व्यवस्था आवश्यक भएको बताएका छन् । बालबालिकालाई भोलिका असल नागरिकका रुपमा स्थापित गर्न यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

मंगलबार  प्रतिनिधि सभाअन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले बाल सुधार गृहहरुमा बालबालिकालाई सुधार गरेर भोलि समाजमा असल नागरिकको रुपमा स्थापित गर्ने गरी कामहरु नभएको भन्दै त्यसका लागि स्वास्थ्य, शिक्षा र खेलकुदलगायत व्यवस्था हुन आवश्यक भएको बताए ।

उनले भने, ‘बाल सुधार गृहमा बालबालिकालाई सुधार गरेर असल नागरिक बनाउने गरी काम भएका छैनन् । त्यहाँ स्वास्थ्य, शिक्षा र खेलकुदलगायत व्यवस्था हुन सकेको छैन । त्यसले गर्दा पनि त्यहाँ समस्या छ । यसतर्फ पनि समितिको ध्यान जान आवश्यक छ । यसको सुरक्षा गृहले र व्यवस्थापन मात्रै मेरो मन्त्रालयले गर्नुपर्ने कारणले पनि कताकता नमिलेको जस्तो भएको छ । त्यहाँ भएका बालबालिकाहरुलाई स्वास्थ्य, शिक्षा र खेलकुदको व्यवस्था गरेर सुधारको बाटोमा लान जरुरी छ ।’

यस्तै, उनले बाल सुधार गृहहरुमा क्षमताभन्दा बढी विभिन्न प्रकृतिका र १३ वर्षदेखि २७ वर्षसम्मका सबै बालबन्दीहरु एकै स्थानमा बस्नु पर्ने अवस्थाको कारणले पनि घटना बढी हुने गरेको बताए ।

उनले भने, ‘अहिले नेपालभरि ८ स्थानमा बाल सुधार गृहहरु छन् र त्यसको क्षमता ११ सय २५ रहेको छ । तीनै बाल सुधार गृहमा क्षमताभन्दा बढी बाल बन्दीहरु रहेको हुनाले पनि घटनाहरु घट्ने गरेको हो । १३ वर्षदेखि २७ वर्षसम्मको व्यक्तिहरु एकै स्थानमा बस्नु पर्ने हुँदा पनि घटनाहरु हुने गरेको देखिएको छ ।’

उनले सुधारको कार्य अगाडि बढिरहेको भन्दै बाँकेमा एउटा ब्लक निर्माण र तनहुँको ढकालटारमा भवन निर्माण गरी बढी भएका स्थानबाट संख्या घटाएर ल्याउने हो भने समस्याहरु तत्काललाई समाधान हुने बताए ।

उनले भने, ‘बाँकेमा एउटा ब्लक लिएर ९९ जनालाई त्यहाँ राखिएको छ त्यसले गर्दा बढी भएको ठाउँमा अलिकति संख्या कम भएको छ । यो क्रमिक रुपमा सुधार हुन्छ र तनहुँको ढकालटारको भवन पूरा भइसकेको छ र त्यहाँपनि अरु स्थानमा बढी भएकाबाट त्यहाँ लाने हो भने यो समस्या तत्काललाई समाधान हुन्छ ।’

त्यसैगरी, मन्त्री आचार्यले पर्सामा भएको बाल सुधार गृहको क्षमता ७० भए पनि १२१ जना बसिरहेको, रुपन्देहीमा ६० जनाको क्षमताम ७३ जना, मकवानपुरको ७० जना छ, ६२ जना, डोटीको २५ जनाको क्षमतामा ४८ जना, भक्तपुरको ११० जनाको क्षमतामा २२८ जना, मोरङ्को ५० जनाको क्षमतामा ११९ जना, बाँकेको ५० जना १८२ जना र कास्कीमा ५० जनाको क्षमतामा ९३ जना रहेको जानकारी गराएका छन् ।

बैठकमा नेपालकाबाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था र बाल सुधार गृह, भक्तपुर; बाल सुधार गृह, वीरगञ्ज र जयेन्दु बाल सुधार गृह, बाँकेमा भएको घटनाका सम्बन्धमा र नेपालका कारागारहरूमा रहेका कैदी एवम् थुनुवाहरूको मानव अधिकारको अवस्थाबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्