काठमाडौं । नेपाल पर्वतारोहण संघले, आफ्नो ५० औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको सम्मानमा ‘पासाङ ल्हामु शेर्पा महिला साहसिक पर्वतारोही’ पुरस्कारको स्थापना गर्ने भएको छ ।
पर्वतीय पर्यटनमा क्रियाशील नेपाली महिलाको उत्साहजनक उपस्थितिलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गर्ने निर्णय गरिएको संघका महासचिव मोहन लम्सालले बताए ।
उनले भने, ‘यस संघले स्थापना दिवसको अवसरमा राष्ट्रिय विभूति स्वर्गीय पासाङ ल्लामु शेर्पाको सम्मानस्वरूप ‘पासाङ ल्हामु शेर्पा महिला साहसिक पर्वतारोही’ पुरस्कार स्थापना गरी साहसिक महिला आरोहीलाई पुरस्कृत गरिने भएको छ ।’
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले ५० औँ स्थापना दिवस भव्यरुपमा गर्न लागेको जानकारी दिएको हो । बुधबार, कार्तिक १४ गते विशेष समारोहको बीच राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।
पहिलो पटक यो पुरस्कार आठ हजार मिटर भन्दा माथिका विश्वका १४ मध्ये १० वटा हिमालहरुको सफलतापूर्वक आरोहण गरी विश्व रेकर्ड बनाएकी महिला आरोही पासाङ ल्हामु अकितालाई प्रदान गर्ने निर्णय गरेको लम्सालले जानकारी दिए ।
जलवायु परिवर्तनले पार्ने असरका बारेमा विश्वलाई सन्देश दिने उद्देश्यले सगरमाथा आधारशिविर नजिकै रहेको कालापत्थरमा संघले राष्ट्रिय झण्डा समेत फहराउने कार्यक्रम छ । लुम्बिनीबाट दीप प्रज्वलन गरी काठमाडौं हुँदै कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने तयारी संघले गरेको हो ।
उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् । जसले जलवायु परिवर्तनले हिमालहरुमा पर्न गएको असरका बारेमा विश्वलाई सन्देश दिने र नेपालको पर्वतीय पर्यटन क्षेत्रको प्रवर्द्धन हुने अपेक्षा संघले राखेको छ ।