पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङले राजनीतिक दल गम्भीर बन्नुपर्ने अवस्था आएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) कास्की जिल्ला कमिटीले आइतबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले जनता सचेत हुँदै गएकोले यहीं अवस्था रहेमा राजनीतिक पार्टीका ठुला नेतालाई जनताले नछाड्ने दावी गरें ।
‘राजनीतिक पार्टीको बढे–बढे नेताहरुलाई जनताले छोड्ने पक्षमा छैनन्, जनता सजक र सचेत हुँदै आन्दोलन गर्ने अवस्थामा आइसकेका छन्, समयमानै राजनीतिक पार्टीहरु सचेत हुनुपर्यो, एकतावद्ध हुनुपर्यो, आफ्नो नमिलेका विचारलाई मिलाउनपर्यो’ उनले भने ।
आफ्ना विचार र सोच समाजका निम्ती उपयुक्त छैनन् भने त्यसलाई थाती राखेर भएपनि मुलुकको हित तथा यो अवस्थाबाट माथि उठाउदै समाजवाद प्राप्तीको लागि सबै एकजुट हुनुपर्नेमा उनको जोड छ ।
पूर्व मन्त्री समेत रहेका गुरुङले भ्रष्टाचार, अनियमितता, ठगी, ढिलासुस्ती अन्त्य गर्नुपर्ने समेत बताए । ‘भ्रष्टाचार ठुलो होस् की सानो होस्, अनियमितता या ठगी ठुलो होस् या साना होस्, ढिलासुस्ती सानो काममा होस् की ठुलो काममा होस्, सबैले आ–आफ्नो पंत्तिबाट त्यसलाई अन्त्य गर्नको निम्ती संकल्प गरौं’ उनको आग्रह थियो ।
दशैं लगायतका चाड खुशी भएर मनाउनुपर्नेमा देशको अवस्थाका कारण जनतामा नैराश्यता छाएको समेत उनले सुनाए ।
‘दशैंको बेलामा प्रफुल्ल भएर खुशी हुनुपर्ने बेला भएपनि धेरैं जना खुशी छैनौं, निरास, वेखुसी र चयन हराएको जस्तो देखिन पुगेको छ’उनले भने ।
कर्तव्यलाई भुलेर पैसाको पछाडि लाग्दा डुबिने उनको दावी छ । ‘एकजुट भएर देश र जनताको निम्ती कर्तव्य पुरा गर्ने हिसाबले लागौं, आज कर्तव्य भन्दा धन ठुलो पैसा कहाँबाट आउँछ, भनेर लाग्ने स्थिती छ, यसले हामीलाई डुबाउँछ’ उनले चिन्ता गरें ।
राजनीतिक दलको सामु चुनौती रहेपनि सबै मिलेको खण्डको चुनौतीलाई सजिलै समाधान गर्न सकिने उनको ठोकुवा छ । ‘आज मुलक निर्माण गर्नको निम्ती भ्रष्टाचार अनियमितता अन्त्य गर्न एकजुट भएर लागौं, यो मुलुक फटाफट दुईवर्ष भित्र बन्न सक्छ’ उनले भने ।
कार्यक्रममा बोल्दै एकिकृत समाजवादीको केन्द्रीय सदस्य समेत रहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका भित्रका मुख्य एजेन्डाहरुमा सबैसँग सहकार्य गरेर अगाडि बढीरहेको बताए । पछिल्लो समयमा नकारात्मक कुराले बढी स्थान पाएको भन्दै त्यसको अन्त्य गर्दै नेपाली समाजलाई सकारात्मक दिशामा अगाडि बढाउनुपर्ने अवस्था सिर्जना भएको समेत बताए ।
‘हामी अहिले सकारात्मक भन्दा सयौं गुणा नकारात्मक कुरा सुन्न, देख्न, हेर्न बाध्य छौं, त्यसबाट अलि माथि उठेर नेपाली समाजलाई सकारात्मक दिशामा अगाडि बढाउनका लागि सबै राजनीतिक दलले आफुलाई एक ठाउँमा राखेर मिल्न सकिने सम्मका कुराहरुमा मिलेर देशको सवृद्धिका लागि अगाडि बढ्नुपर्ने अवस्था आएको छ’ प्रमुख आचार्यले भने ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापाले तीनवटै सरकार मिलेर जनतामा आशाको सञ्चार जागृत गराउनुपर्ने बताए । पछिल्लो क्रममा सरकारप्रति र राजनीतिक दलप्रति धावा बोल्नेको संख्या बढ्दै गएकोले त्यसलाई चिर्नको निम्ती समेत सबै मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) कास्कीका अध्यक्ष खड्ग हमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पोलिटव्युरो सदस्य एवं कास्की इन्चार्ज श्रीनाथ बराल र सञ्चालन उपाध्यक्ष पूर्ण लामाले गरेका थिए ।