‘बिचरा म’ सँगै कन्दराको पुनरागमन, अब सांगीतिक माहोल तताउने

पुनः जुर्मुराउदै कन्दरा व्याण्ड, देशैभरी साँगीतिक कार्यक्रम आयोजना गर्ने

राजाराम पौडेल, पोखरा । पचासको दशकमा पोखराबाट उदाएर सोही दशकमानै नेपाली सांगीतिक फाँटमा स्थापीत बनेको कन्दरा व्याण्डले नयाँ गीत ‘विचरा म’ सँगै पुनरागमन गरेको छ।

लामो तयारीका साथ पोखरा सहित देशैभरको सांगीतिक माहोलमा नयाँ रौनकता थप्ने उद्धेश्य बोकेर अगाडि बढ्न खोजेको कन्दराको नयाँ गीतमा त्यो छनक भेटिएको छ । रेडियो नेपालमा लाइभ रेकर्ड गरिएको गीतले कन्दराको मौलिकतालाई थप बलियो बनाएको छ ।

व्याण्ड मेम्बरहरुको फुर्तिलो प्रस्तुतीले गीत सुन्दर मात्र बनाएको छैन गीत हेर्ने दर्शकलाई समेत त्यसको अनुभुति दिलाउन सफल भएको छ । गीतकार आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आवाज विवेक श्रेष्ठले भरेका छन् ।

सुनील थापाको संगीत, हरि महर्जनको एरेन्ज, देव लामाको मिक्सिङ एण्ड मास्टरिङमा गीत तयार भएको हो । शिवराम श्रेष्ठ र अनिल मानन्धरले सिनेमेट्रोग्राफी गरेको भिडियोको कन्सेफ्ट तथा निर्देशन आशिष पराजुलीले गरेका हुन् । गीत कन्दरा व्याण्ड युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

त्यसोत कन्दराले ७३ वर्षको इतिहास बोकेको रेडियो नेपालमा ५ वटा गीतहरूको ‘वान टेक रेकर्डिङ र सुटिङ’ सम्पन्न गरेको हो । यी गीत अब क्रमश: रिलिज गर्दे जाने उसको तयारी छ ।

यसरी जन्मियो कन्दरा

नेपालको चर्चित पप व्याण्ड कन्दराका मुख्य भोकलिष्ट विवेक श्रेष्ठ पोखरामा जन्मिए पनि बाल्यकाल भने स्याङ्गजाको वालिङमा बितेको थियो । कक्षा सात सम्म आफ्नो ठुलीआमाको घर वालिङ बसेर पढेका उनी सानैदेखि गीतसंगीत तर्फ रुचि राख्दथे । तर पारिवारिक वातावरण संगीतमय नभएको कारण यात्रा अगाडि बढाउन सहज थिएन । वालिङमानै पढ्ने क्रममा दार्जलिङबाट आएका शिक्षकको आग्रहमा उनले आफ्नो प्रतिभा सुनाउन थाले । यसबाट पाएको सकारात्मक प्रतिक्रियाले उनी अगाडि बढ्न हौसीएपनि ।

आठ कक्षा पढ्न उनी पोखरामा आए । पोखराको बाराही स्कुलमा भर्ना भएका उनको भेट सुनील थापा सँग हुन पुग्यो । स्कुल पढ्ने क्रममा सुनीलले टेबल बजाउने विवेकले गीत गुनगुनाउने गर्न थाले । विस्तार उनीहरुका गीत सहकर्मी साथीले मात्र नभएर शिक्षकले समेत रुची पुर्वक सुन्न थाले । फलस्वरुप यात्रा अगाडि बढाउन उनीहरुलाई पेरणा मिल्न पुग्यो । त्यतिबेला कला र संगीतमा रुची राख्ने युवाहरुले गठन गरेको पिस ह्यान्की क्लवमा सुनील थापा आबद्ध थिए ।

सुनीलकै आग्रहमा सुनीललेनै रचना र संगीत दिएको ‘आजभोली रात’ बोलको गीतमा विवेकले आवाज दिए । जुन बेला उनको उमेर १३ वर्षको मात्र थियो । यो गीत मार्फत उनको पहिचान बन्यो । उनले पिस ह्यान्की समहुमा तीन वर्ष आवद्ध रहे । त्यही समयमानै पिस ह्यान्की समुहमा रहेका रक शैलीका गीत मनपराउनेहरुले ‘२४ क्यारेट’ नामको रक व्याण्डको स्थापना गरे । जस्मा बुद्धराज बर्जाचार्य, बिजय गुरुङ्ग, दिपकराज मुल्मी, आनन्द तजिया, सुनील भट्टचन आवद्ध थिए ।

२४ क्यारेट नामको रक व्याण्डनै पछि गएर कन्दरा समुहको चिनिन पुग्यो । एकदिन घरमानै किक्रेट खेलिरहेका विवेकलाई कन्दराका मेनेजर दिपकराज मुल्मीले गीत रेर्कडका लागि काठमाण्डौ जान आग्रह गरे । जुन समयमा उनी पिस ह्यान्की समुहमानै आवद्ध थिए । अनि घरमा कुरा गरेर विवेक कन्दरा समुहका साथीहरुको साथमा गीत रेर्कडको लागि काठमाण्डौँ हानीए ।

‘चञ्चले कान्छी’ गीत रेर्कड गर्न भनेर गएका विवेकले लगातार पाँच गीतमा आवाज भर्न पाए । ती गीतले एक पछि अर्को गर्दै श्रोताको मन जित्न सफल भए । कन्सर्टको लागि कन्दरा समुहलाई अफर आउन थाल्यो अनि बाध्य भएर विवेक श्रेष्ठ पिस ह्यान्की छाडि कन्दरामानै आए । आफुमात्र होइन सुनील थापा र अमर गुरुङ्गलाई समेत कन्दरामा आवद्ध विवेकले गराए । अनि कन्दरा समुहको सक्रियता नेपाली साँगीतिक फाँटमा निकै नै बढेर गयो । कन्दरामा अमित गुरुङ, असिम शेरचन, अविनाश गायक र अनिल गुरुङ लगायतले समेत व्याण्ड मेम्बरको रुपमा काम गरें ।

पुनः जुर्मुराउदै

हुनत यस अगाडि समेत कन्दराले दह्रो गरी आफ्नो कमब्याक गर्न खोजेपनि त्यसले मुर्तरुप लिन सकेन । ३० वर्षको लामो इतिहास बनाइसकेको कन्दरा व्याण्ड पुनः जुर्मुराउन खोजेको छ । जसको छनक भर्खर सार्वजनिक भएको गीतबाट दिइसकेको छ । सार्वजनिक हुने क्रममा रहेका गीतबाट झनै व्याण्डको उचाइ माथि पुर्‍याउने आशा गर्न सकिन्छ ।

व्याण्ड व्यवस्थित हुँदै

लोकलयमा आधारित पप गीत मार्फत संगीत पारखीको माया बटुल्न सफल व्याण्डले नयाँ अभियानका लागि व्यवस्थापक समेत पाएको छ । अब यो व्याण्डको व्यवस्थापनको जिम्मेवारी आदि ग्रुप प्रालिले गर्नेछ । व्यवस्थापककको जिम्मेवारी पाएसँगै आदि ग्रुपले व्याण्डको पुनर्संरचना समेत गरेको छ ।

जस अनुसार व्याण्डको स्थापनाकर्ता विवेक श्रेष्ठ र सुनिल थापासँगै नेपालमा पहिलोपटक जिप्सीज्याज म्युजिक गुञ्जयमान गराएका हरि महर्जनलाई गितारको अख्तियारी सुम्पेको छ । पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनलाई जिम्मेवारी दिइएको छ । व्यवस्थापकको जिम्मेवारी आदि ग्रुपका परिकल्पनाकार आशिष पराजुलीले सम्हालेका छन् । पुराना व्याण्ड मेम्बरहरुले पर्याप्त समय दिन नसक्दा व्याण्ड मेम्बर परिवर्तन गर्नु परेको हो ।

देशैभर सांगीतिक कार्यक्रम गर्दै

नयाँ व्यस्थापक भेटाएसँगै कन्दराले ‘पहिले घर अनि परदेश, घरदेश घुमौँ पर्यटनको प्रवर्द्धन गरौं’ भन्ने उद्घोषका साथ देशैभर सांगीतिक कार्यक्रम गर्ने भएको छ । जसको सुरुवात आगामी मंसिर १६ गते पोखराबाट हुने व्याण्डका मुख्य भोकलिष्ट विवेक श्रेष्ठले जानकारी दिए ।

पाेखरामा गर्ने कार्यक्रमको नाम ‘घर आँउदै कन्दरा’ तय भएको छ । देशका सातै प्रदेश र मुख्य सहरमा सांगीतिक कार्यक्रम गरी समापन काठमाडौंमा गरिनेछ । यो अभियानमा कन्दरालाई पोखरा पर्यटन परिषदले साथ दिनेछ ।

कन्दराका एल्बम

२०५० मा पहिलो एलबम ‘चञ्चले कान्छी’ निकालेको कन्दराले २०५२ मा ‘डाँडापारी’, २०५५ मा ‘हङकङ पोखरा’, २०६२ सालमा चौथो एल्बम ‘वर्षौपछि’ र पाँचौ एल्बम ‘भेडिगोठमै’ २०७२ सालमा बजारमा पस्केको थियो ।

त्यसोत कन्दरा व्याण्डका मुख्य भोकलिष्ट विवेकको २०५७ मा सोलो एल्बम ‘उत्सव’ समेत बजारमा आएको थियो ।

विवेकको हुटहुटी

यतिबेला कन्दरा व्याण्डलाई पुनः स्थापीत गर्नको लागि मुख्य भोकलिष्ट विवेक श्रेष्ठ राम्रो तयारीका साथ लागेका छन् । उनको काँधमा कन्दरा व्याण्डको पुनरागमन गरे स्थापित गर्ने मात्र नभएर कुनै समय नेपाली संगीतको राजधानी शहरको परिचय बनाएको पोखराको सांगीतिक माहोल समेत जगाउनुपर्ने जिम्मेवारी समेत रहेको छ ।

सांगीतिक क्षेत्रमा नै केही गर्न सक्छु र गर्छु भन्ने हुटहुटी मनमा लिएर वैदेशिक यात्राबाट विश्राम लिदैं सांगीतिक यात्राको रथ हाक्न कस्सिएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्