पोखरा । ‘कालिका स्मारिका’ शनिबार लोकार्पण गरिएको छ । श्री अर्घौ मौला कालिका मन्दिर संरक्षण समिति पोखरा २८ झाँझरमारे कालिकास्थानले प्रकाशन गरेको स्मारिका गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले लोकार्पण गरेका हुन् ।
सोही कार्यक्रममा अर्घौ मौला कालिका मन्दिरमा निर्माण गरिएको शिला अनावरण गरियो भने सहयोगदातालाई सम्मान समेत गरियो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री अधिकारीले नेपालको धर्म संस्कृतिमा पछिल्लो समयमा विकृती देखिन थालेको भन्दै त्यस्ता विकृति हटाउन सबैले पहल गर्नुपर्ने बताए । ‘हामी एक हौं, हामीसँग हिजोको उर्जा तागत छ, हामी बनाउनैछौं, यहीं ज्ञान कालिका मन्दिरबारे प्रकाशित भएको स्मारिकाले दिएको छ’ अधिकारीले भने ।
नेपालबाट युवाहरु विदेशीने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै स्वदेशमा नै प्रचुर सम्भावना रहेको दावी गरें । इतिहासले हामीलाई दिएको कार्यभार सबै मिलेर पूरा गर्नुपर्ने उनको भनाई थियो । ‘समस्यासँग जुध्ने हो समाधान गर्ने हो हाम्रो क्षमताको उजागर गर्ने हो, इतिहासले हामीलाई जे कार्यभार दिएको छ, सुम्पेको छ, अब हामीले बनाउन सक्छौ’ उनले भने ।
यतिबेला समाजमा केही पनि भएन भन्ने खालको आवाज बढी उठ्ने गरेकोमा विमति राख्दै विगतमा भन्दा धेरैं कुराको विकास भएको दावी गरें । राम्रा कुरामा पक्ष विपक्ष नभनी सबै एक भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।
‘हामीले जे व्यवस्था ल्याएका छौ मौलीक छ,त्यसमा केही समायोजन गर्नुपर्ला राम्रा कुरा के छन् तिनलाई ग्रहण गर्ने हो नराम्रोलाई हटाउने हो, एकले अर्कालाई सम्मान गर्ने राम्रा कुराको पक्षपोषण गर्ने गर्नुपर्छ’ निवर्तमान मुख्यमन्त्री अधिकारीले भने ।
उनले ऐतिहासिक स्थल अर्घौ मौला कालिका प्रचुर सम्भाबना बोकेको ठाउँ भएको समेत बताए । आफुलाई कालिका आउदा सधैं उर्जा मिल्ने बताएका उनले पञ्चायतको व्यवस्था फाल्ने बेलामा २०४६ सालमा जेलबाट भागेर आएको दिनको स्मरण समेत गरें ।
स्मारिका सम्पादन र प्रकाशनबारे प्रधान सम्पादक सूर्यप्रसाद भण्डारी तथा स्मारिकाको बारेमा समीक्षा राजेश घिमिरे र
महेश्वर पाण्डेले गरेका थिए । स्मारिकामा ४७ वटा लेखका लेखहरु समावेश छ ।
श्री अर्घौ मौला कालिका मन्दिर संरक्षण समितिका अध्यक्ष बोधराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जि.सी., गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ, नेपाली काग्रेस कास्कीका पूर्व सभापति कृष्ण के.सी., पोखरा महानगरपालिका वडा नं. २८ का अध्यक्ष श्रीकृष्ण लामिछाने, मादी गाउँपालिका वडा नंं. ५ का वडाध्यक्ष होमनाथ अधिकारी सहित डा.शान्ता खत्री, कृष्ण प्रसाद भण्डारी, देवीदत्त भण्डारी, समितिका उपाध्यक्ष खेमराज त्रिपाठी, सचिव केशवदास त्रिपाठी लगायतले बोलेका थिए ।
२०७० सालमा स्थापना भएको समितिले भवन बनाउने तयारी गरेको छ । यसका साथै पोखरीलाई व्यवस्थित गर्ने र डकुमेन्ट्री निर्माण गर्ने योजना समेत आफुहरुले बनाएको समितिका अध्यक्ष त्रिपाठीले जनाए ।