२०८१ काे फूलपातीमा सार्वजनिक गर्ने गरी सेनको ‘बलिदान’ निर्माण हुँदै

२०८१ काे फूलपातीमा सार्वजनिक गर्ने गरी सेनको ‘बलिदान’ निर्माण हुँदै

काठमाडौं । आसुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बलिदान’ को शीर्षक सहितको ’थिमलुक’ सार्वजनिक गरिएको छ ।

नेपाली चलचित्रको श्रेष्ठ सिरिज ’प्रेम गीत’ सिरिजका प्रणेता तथा पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक प्रदर्शन सुरुवात गरेका सन्तोष सेनले यो चलचित्र बनाउन लागेका हुन् ।

शनिवार दसैँ, फूलपातीको अवसर पारी घोषणा गरिएको ‘बलिदान’ को रिलिज २०८१ सालको फूलपातीको दिन तय गरिएको छ ।

‘बलिदान’ को निर्देशन सन्तोष आफैंले गर्दैछन् । आसुसेन प्रालि तथा सन्तोषको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिष्ट तथा कार्यकारी निर्माता चक्रबहादुर चन्द, प्रेम पुरीलगायत छन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ’स्क्रिप्ट डक्टर’ का रूपमा मनोज पण्डित छन् ।

‘थिमलुक’ मा सार्वजनिक सामग्रीअनुसार ‘बलिदान’ को कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गका बीच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलनहरूको उत्पत्ति, कारण र परिणामको विषय चित्रण हुनेछ ।

चलचित्रका निर्माता तथा निर्देशक सेनले यो चलचित्रलाई ‘एक सार्वभौम महाकथा’ भनेका छन् । ‘नेपालको पछिल्लो राजनीति तथा मधेसमा भएका आन्दोलनका मुद्दामा आधारित छ कि छैन भन्ने सन्दर्भमा शान्तिपूर्ण आन्दोलन गर्दा आफ्नो स्वार्थको दाल दल्ने देशी–विदेशी कुटिलहरू प्रवेश गरी उत्पन्न हुने परिवेशलाई चित्रण गर्ने हुनाले यसको कथा नेपालको मधेसको त हो नै, साथै जहाँ पनि र जहिले पनि यस्ता मुद्दा चलिरहने हुँदा एक सार्वभौमिक महाकथा हो’ सेनले भने ।

यो चलचित्रमा विषयवस्तु यथार्थ रहेको तर स्थान तथा पात्र काल्पनिक रहेको सेनले बताए । ‘काल्पनिक रङ दिएर नेपाली समाजमा भए गरेका मधेस मुद्दालगायत सबैतिर देखिने राज्य पीडितका मुद्दालाई सशक्त रूपमा उठाउने र नेपाली राजनीतिको सुक्ष्म अवलोकन गरी नेपालमा सधैँ अस्थिरता फैलाइरहने कुटिल तत्वको पहिचान गरी त्यस्ताबाट सचेत हुने सन्देश चलचित्रमा दिनेछौँ’, उनले भने ।

सेनका अनुसार चलचित्रमा सहज आन्दोलन या अधिकारको लडाइँ हुँदा देशी–विदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातच्युत पारिन्छ भन्ने कुरालाई चित्रण गरिनेछ ।

अति भएपछि देशको अस्मिता जोगाउन युगले एक असली युगपुरुष जन्माउँछ भन्ने सत्यलाई पनि चलचित्रको कथामा आत्मसात् गरिने उनले बताए ।

‘त्यस्ता युगपुरुषले नै तानाशाही कुटिलहरूको बलि दिएर समाज तथा भूगोल टुक्रिनबाट कसरी योगदान दिइरहेको हुन्छ र युगमा परिवर्तन आउँछ भन्ने सार्वभौमिक सत्यको प्रतिपादन गरिने चलचित्र बलिदान हो’ सेनले भने । तिहारलगत्तै यो चलचित्रको छायाङ्कनमा जाने तयारी गरिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्