काठमाडौं । ‘लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन’ ले ‘यम बराल हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ आयोजना गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् क्लबले आगामी कात्तिक १८ गते उक्त कन्सर्ट आयोजना गर्न लागेको जानकारी दिएको हो ।
क्लबकी अध्यक्ष कल्पना बस्नेतले कन्सर्टले नेपाली संगीत र संस्कृतिलाई उजागर गर्ने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘गायक यम बरालको प्रस्तुति रहने कन्सर्टले नेपाली संगीत र संस्कृतिलाई उजागर गर्न क्लबको यो प्रयासले भूमिका निभाउने कुरामा हामी विश्वस्त छौं ।’
‘सामाजिक र सांस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट सहयोग स्वरुप सांस्कृतिक कार्यक्रम गर्न लागिएको उनको भनाई छ ।
क्लबले कन्सर्टबाट संकलित रकमबाट गुरुकुलीन शिक्षाका लागि वेदाश्रम, मन्दिर र घर भने सैद्धान्तिक, व्यावहारिक र वैज्ञानिक शिक्षाका लागि शिक्षालय वा विद्यालयलाई सहयोग गर्ने योजना बनाएको छ ।
‘गुरुकुलीन शिक्षाका लागि वेदाश्रम, मन्दिर र घर भने सैद्धान्तिक, व्यावहारिक र वैज्ञानिक शिक्षाका लागि शिक्षालय वा विद्यालय हो, यही कुरालाई मनन गर्दै चेपाङ, दलित, क्षेत्री र ब्रामण समुदायको बसोबास रहेको धादिङको गजुरी गाउँपालिका–५ पीडामा रहेको श्रीडोल भञ्ज्याङ माध्यमिक विद्यालयमा क्लबले सहयोग गर्ने योजना बनाएको छ ।’
इलामको फिक्कलमा जन्मिएका गायक बराल नेपाली आधुनिक संगीतका मूलधारका शीर्ष गायक तथा नेपाली चलचित्रका पाश्र्व गायक तथा संगीतकार हुन् ।
उनले २०४७ सालमा रेडियो नेपालमा ‘सागरभन्दा गहिरो’ बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।
उनले रेडियो नेपालबाट २०४९ सालमा प्रथम पुरस्कार प्राप्त गरेका थिए । ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’, ‘मन रोएको’, ‘अब चोटहरुले’, ‘निष्ठुरीले छोडेर गइहाली’, ‘तिमीलाई सम्झिँदा’, आर्शिवाद’, ‘मन’, ‘वेद’, ‘धुन’ जस्ता सुमधुर गीतहरु आजका पुस्तामा पनि लोकप्रिय छन् ।